११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

विद्युत कर्मचारी कुट्नेलाई तत्कालै पक्राउ गर्न सिडियोको कडा निर्देशन



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले बिद्युत कर्मचारीमाथी हातपात गर्नेहरुलाई तत्कालै पक्राउ गर्न प्रहरीलाई कडा निर्देशन दिएका छन् । नेपाल बिद्युत प्राधिकरण तौलिहवा बितरण केन्द्रका प्रमुख जय कुमार यादवको नेतृत्वमा प्रशासन कार्यालयमा पुगेका थिए । माहोम्मद युसुफ खाँ र याकुफ खाँको अगुवाईमा कर्मचारीमाथी हातपात गरिएको थियो ।

सोही डेलगेशन कै क्रममा प्रजिअ श्रेष्ठले प्रहरी उपरिक्षक दीप शमसेर जबरा र प्रहरी नायब उपरिक्षक सुनिल मल्ललाई घटनामा संलग्न भएकाहरुलाई तत्कालै पक्राउ गर्न निर्देशन दिएका हुन । प्रहरी नायब उपरिक्षक मल्लले घटनामा संलग्न भएकाहरुको खोजी कार्य भएको बताए । ‘छपियामा उनीहरुलाई पक्राउ गर्न प्रहरी पठाएका छौ, तर उनीहरु भेटिएका छैनन्’ उनले भने ।

घटना पछि शुद्धोदन गाउँपालिका– १ छपियामा गरिएको ‘ब्ल्याक आउट’ जारी रहेको प्रमुख यादवले बताए । दोषी उपर कारबाही नभएसम्म त्यहाँ ‘ब्ल्याक आउट’ जारी रहने उनले बताए । बुधवार राति बिद्युत कर्मचारीमाथी कुटपीट गरिए पछि कपिलस्तुको शुद्धोदन गाउँपालिका– १ छपिया गाउँमा लाईन काटेर ‘ब्ल्याक आउट’ गरिएको थियो ।

चुहावट नियन्त्रण गर्न हिडेको नेपाल बिद्युत प्राधिकरण तौलिहवा बितरण केन्द्रका कर्मचारीहरुमाथी दुब्र्यवहार र हातपात गरिएको थियो । प्राधिकरण कर्मचारीहरुले स्थानीय माहोम्मद युसुफ खाँ र याकुफ खाँको घरमा छापा हानेको थियो । बिद्युत मिटरबाट बाईपास गरी बिद्युत चोरेको र हुकिङ समेत गरिएको फेला पारेपछि कर्मचारीमाथी हातपात गरिएको थियो ।

यो पनि पढ्नुहोस

कपिलवस्तुमा विद्युतका कर्मचारी कुटिए !

प्रकाशित मिति : ६ मंसिर २०७६ शुक्रबार ००:००  ७ : १८ बजे