मायादेवी अनलाइन, कपिलवस्तु ।
बिद्युत कर्मचारीमाथि कुटपिट गरिए पछि कपिलस्तुको शुद्धोदन गाउँपालिका– १ छपिया गाउँमा बुधवार मध्यरातमा लाईन काटेर ‘ब्ल्याक आउट’ गरिएको छ । बिद्यतु प्राधिकरण तौलिहवाले पुरै गाउँमा ‘ब्ल्याक आउट’ गरेको यो नै पहिलो घटना भएको जनाएको छ । चुहावट नियन्त्रण गर्न हिडेको नेपाल बिद्यतु प्राधिकरण तौलिहवा बितरण केन्द्रका कर्मचारीहरुमाथि दुब्र्यवहार र हातपात गरिएको थियो । कर्मचारीमाथि हातपात भएको ६ घण्टा पछि ‘ब्ल्याक आउट’ गरिएको थियो ।
बुधवार मध्यरात देखि सो गाउँमा ‘ब्ल्याक आउट’ गरिएको नेपाल बिद्युत प्राधिकरण तौलिहवा बितरण केन्द्रका प्रमुख जय कुमार यादवले बताए । बुधवार साँझ ५ बजेतिर प्राधिकरणका कर्मचारी, सशस्त्र र नेपाल प्रहरी सहीतको चुहावट नियन्त्रणको टोली छपिया गाउँ पुगेको थियो । प्राधिकरण कर्मचारीहरुले स्थानीय माहोम्मद युसुफ खाँ र याकुफ खाँको घरमा छापा हानेको थियो । बिद्युत मिटरबाट बाईपास गरी बिद्युत चोरेको र हुकिङ समेत गरिएको फेला पारेको प्राधिकरण तौलिहवाका प्रमुख जयकुमार यादवले बताए ।
उनीहरुले बिद्युतका सुपरवाईजर राजेश कुमार पाण्डेय, हेल्परहरु हरि पनेरु, प्रवीण आचार्य हरिशचन्द्र मिश्रा र शिवलोचन यादवलाई कुटेका थिए । प्राधिकरणले युसुफ र याकुफ बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको छ । ‘हामीले दुबै जना बिरुद्ध प्रहरीमा सार्वजनिक मुद्दा दर्ता गराएका छौ प्राधिकरणका प्रमुख यादवले भने ।’ उता घटनाको निन्दा गर्दै नेपाल बिद्यतु प्राधिकरण कर्मचारी संघ र नेपाल बिद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनले छुट्टा छुट्टै बिज्ञप्ती निकालेर घटनाको निन्दा गर्दै दोषीलाई कडा कारबाहीको माग गरेको छ ।
५ मंसिर २०७६ बिहिबार ००:००
2
Shares
प्रतिक्रिया