मायादेवी अनलाइन, वाणगंगा ।
विद्युत अनियमित हुँदा कपिलवस्तुबासी हैरानी खेप्न बाध्य भएका छन् । यस्तो समस्या हुन थालेको महिनौ हुँदा पनि कसैले यस विषयमा चासो देखाएको छैन् । चैत्र, बैशाख महिनामा नदीमा पानीको वहाव घटेको कारण विद्युत आपूर्तीमा समस्या देखिएको बताउने विद्युत प्राधिकरण तौलिहवा, गजेहडा शाखा बर्खा लागेसंगै केन्द्रको समस्या देखाएर उम्कने प्रयास गर्ने गरेका छन् । हरेक सिजनमा कुनै न कुनै वाहना बनाएर सर्वसाधारणलाई छल्न माहिर प्राधिकरणका कर्मचारीहरु प्रति जिल्लाबासी तीव्र असन्तृष्ट छन् ।
सरकारले लोडसेडिङ मुक्त देश घोषणा गरीरहदा कपिलवस्तुको पीडा बुज्ने शासक कोही नभएको जिल्लाबासीको गुनासो छ । यतिसम्म विद्युत वितरण केन्द्र तौलिहवा र त्यसका सहायक शाखामा लापरबाही छ भने विद्युत के कति कारणले गएको हो बताउने फुर्सद कसैलाई छैन् ।
कपिलवस्तुमा बुधबार दिनभर विद्युत अवरुद्ध भयो । तर, कपिलवस्तुबासी शान्त जस्तै बने । दिनभर विद्युत अवरुद्ध हुँदा समेत प्राधिकरणले कसैलाई जानकारी दिएन । जबकी एक घण्टा विद्युत अवरुद्ध हुँदा के कति कारणले त्यस्तो भएको हो जान्ने अधिकार नागरिक सामु छ । यो लोकतान्त्रिक मूलुकमा दिनभर विद्युत अवरुद्ध हुँदा समेत जान्ने, बुज्ने अधिकार नागरिकले पाउँदैनन् भने यो कस्तो लोकतन्त्र ? नागरिक अगुवा प्रश्न गर्छन् ।
विद्युत प्राधिकरणको पटक पटकको गम्भिर लापरबाही हुँदा पनि कपिलवस्तुबासी शालिन रुपमा प्रस्तुत हुँदै आएका छन् । तर, प्राधिकरणको दैनिक लापरबाहीले अहिले जिल्लाबासी तीव्र आक्रोसित छन् । शुक्रबार साँझ वाणगंगा क्षेत्रमा पटक पटक विद्युत अवरुद्ध भयो । विद्युत अवरुद्ध भएपछि वाणगंगा नगरपालिका वडा नं. ३ निवासी युवा नेता गोपालमणी ज्ञवालीले सामाजिक सञ्जालमा आक्रोस पोख्नुभयो । ज्ञवालीले लेख्नुभएको छ, ‘अहिलेको यो लोडसेडिङ मुक्त हो कि लोडसेडिङ युक्त हो ! कोहि छैन् यस्को छिनोफानो गर्ने ? अति हुन थाल्यो अब त ।’
जिल्लामा पछिल्लो समय सबैभन्दा बढी विद्युत वाणगंगा नगरपालिका क्षेत्रमा जाने गरेको छ । दैनिक मानिसको चाप बढीरहेको यस क्षेत्रमा लामो समय देखि लो भोल्टेजको समस्या रहदै आएको छ ।
यो पनि पढ्नुहोस
वाणगंगामा ‘लो भोल्टेज’, उपभोक्ता हैरानी खेप्न बाध्य ! कहिले होला समाधान ?
गर्मी लागेसंगै पंखा नघुम्ने विद्युतले आजित बनेका वाणगंगाबासी साउन लागेसंगै लोडसेडिङको चरम मारमा परेका छन् । साउनमा पानी पर्न नसक्दा गर्मी मक्किएको छ । गर्मीको चरम मारमा परेका तराईबासीलाई अहिले विषालु सर्पको विगविगीले सताएको छ । साँझमा विद्युत नहुँदा सर्पको जोखिम पनि उस्तै बढीरहेको छ । पछिल्लो तीन दिनमा कपिलवस्तुमा तीन जनाको विषालु सर्पको डसाईबाट मुत्यु भएको छ ।
विद्युत अनियमितबारे विद्युत वितरण केन्द्र गजेहडाले विद्युतमा समस्या आएको कारण अनियमित भएको बताएको छ । केन्द्रलाई पटक पटक यस विषयमा जानकारी दिँदा पनि कुनै सुनुवाई नभएको शाखाका कर्मचारीले गुनासो गरे ।
देश संघीयतामा गई सकेपनि विद्युत प्राधिकरण उही पुरानै शैलीबाट सञ्चालित छ । विद्युत अनियमितबारे पटक पटक जिल्लाबासीले स्थानीय सरकारका जनप्रतिनिधिलाई भने पनि प्राधिकरणका कर्मचारीले टेर पुच्छर लगाएको देखिदैन् । स्वयम आफु नै राज्य सञ्चालकको मतियार ठान्ने प्राधिकरणका कर्मचारीले स्थानीय सरकारलाई नटेर्दा दादागिरी मच्चिएको चर्चा चल्ने गरेको छ । विद्युत अनियमितबारे सर्वसाधारणलाई जानकारी दिन कन्जुस्याई गर्नु पनि त्यसैको परिणाम भएको उनीहरु टीप्पणी गर्छन् ।
उता केन्द्र सरकार भने दिनरात लो भोल्टेज दिएर देश लोडसेडिङ मुक्त भएको सस्तो प्रचार गर्नमा व्यस्त छ । सर्वसाधारण विद्युत प्राधिकरणबाट कति आजित छन् भन्ने राज्यले थाहा नपाए हो या नसुनेर हो राम जानुन् ।
प्रतिक्रिया