मायादेवी अनलाइन, शिवगढी ।
‘मिनी रोल्पा’ का रुपले चिनिने कपिलवस्तुको शिवगढी नेत्र विक्रम चन्द ‘विप्लव’ को गृह ठाउँ हो । बेला बेला चर्चामा आउने शिवगढीमा हालै गरिएको स्वास्थ्य शिविरले फेरी चर्चामा ल्याएको छ । विप्लवले नेतृत्व गरेको नेकपा सरकारले प्रतिबन्ध लगाएको पार्टी हो । नेकपाका गतिविधि माथि सरकारले गहिरो नजर लगाउँदै आएको छ । तर, शिवगढीमा एकाएक आयोजना भएको स्वास्थ्य शिविरले सरकारी तवरमा हलचल मच्चिएको छ ।
प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)को गाउँ कपिलवस्तुको शिवगढीमा छोरा प्रकाश चन्दले स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् । विप्लवको पार्टीको जनवर्गीय संगठन जनस्वास्थ्यकर्मी महासंघका महासचिवसमेत रहेका प्रकाश चन्दको नेतृत्वमा गरिएको स्वास्थ्य शिविरमा त्यस क्षेत्रका २ हजार ६ सय विरामीले सेवा लिएका छन् ।
कपिलवस्तुस्थित शिवराज नगरपालिका वडा नं. -९ भगवानपुरको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा असार ७ र ८ गते दुई दिन स्वास्थ्य शिविर चलाएको प्रकाशले बताए । करीव ७ किलोमिटर परबाट समेत सेवा लिनका लागि स्थानीयहरु शिविरमा आएका थिए ।
पानी रुझ्दै र चर्को घाममा उभिएर विरामीहरुले सेवा लिएको प्रकाशले बताएका छन् । ‘२६ सय जना दुई दिनमा स्वास्थ्य परीक्षणमा आउनु त्यति राम्रो कुरा हैन, स्वास्थ्यसम्बन्धी ठूलो समस्या रहेछ’ प्रकाशले भने, ‘आगामी दिनमा पनि यसलाई निरन्तरता दिन्छौं ।’
स्वास्थ्य शिविरमा स्त्री तथा प्रसुती, बालरोग, दाँतरोग, हाडजोर्नी, छाला रोग तथा यौनरोग, नाक कान घाँटी, प्रयोगशाला र भिडियो एक्सरे सेवा उपलब्ध गराइएको प्रकाशले बताए । शिविरबाट जनतालाई थोरै भए पनि राहत महसुस गराउन खोजेको जनस्वास्थ्यकर्मी महासंघका महासचिवसमेत रहेका प्रकाशले बताए । सो गाउँमा एउटा स्वास्थ्य चौकी मात्रै रहेको छ ।
अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघको पहलमा र शहिद स्मृति प्रतिष्ठानको आयोजनामा आयोजित शिविरमा विप्लवका छोरा प्रकाशसहित १९ जना स्वास्थ्यकर्मीहरुको सहभागी थिए ।
पुरानो मेडिकल कलेज भरतपुरबाट १९ जना स्वास्थ्यकर्मी शिविरमा गएका थिए । अर्थोसर्जरी विषयमा चितवन मेडिकल कलेजमा एमबीबीएसको पढाइ सकेका प्रकाश अहिले प्रशिक्षार्थी चिकित्सकका रुपमा समेत काम गरिरहेका छन् ।
यो पनि पढ्नुहोस
प्रतिक्रिया