८ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025

झोला उद्योगको उत्पादन र बजारीकरणका लागि व्यवसायीसंग छलफल



वैशाख १७, बाणगंगा — महिलाहरूलाई स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले बाणगंगा नगरपालिकामा झोला उद्योग उत्पादनको बजारीकरण तथा व्यवसायी अन्तरक्रिया कार्यक्रम चारनम्बरमा सम्पन्न भएको छ। बाणगंगा नगरपालिकाको सहयोगमा उपप्रमुख सिपमूलक तालिम कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको उक्त कार्यक्रमले कागजका झोला बनाउने तालिम, उत्पादन प्रविधि र बजारीकरणका उपायहरूबारे सहभागीहरूलाई जानकारी दिएको थियो।

कार्यक्रममा बाणगंगा नगर प्रमुख चक्रपाणि अर्यालले नगरपालिकाले अब रोजगारी र उत्पादनमुखी कार्यहरूमा जोड दिने बताएका थिए। उनले वातावरण स्वच्छ राख्न प्लास्टिकजन्य वस्तुको सट्टा कागजजन्य सामग्रीको प्रयोग र प्रवर्द्धन गर्ने नीति रहेको उल्लेख गरे।

कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रकी अध्यक्ष सूर्यकुमारी शाहीले विभिन्न अध्ययन र अवलोकनपछि महिलालाई स्वरोजगार र उद्यमशीलतामा लाग्न प्रेरणा दिने उद्देश्यले झोला उद्योगको अवधारणामा काम गरिएको जानकारी दिइन्। सहभागी व्यवसायीहरूद्वारा झोलाको बजारमा बढ्दो माग र वातावरणमैत्री विकल्पको आवश्यकतालाई बुझेर कागजका झोलाको प्रयोगमा चासाे र सक्रियता जनाएका थिए ।

कार्यक्रममा महिला तथा बालबालिका शाखाकी प्रमुख सुशिला पन्थले महिलाहरूलाई रोजगारीतर्फ उन्मुख गराउन यस्ता तालिम र अन्तरक्रिया कार्यक्रमहरू प्रभावकारी हुने विश्वास व्यक्त गरिन्। कार्यक्रमले महिला उद्यमशीलता प्रवर्द्धनका साथै वातावरणीय संरक्षणमा पनि महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १७ बैशाख २०८२ बुधबार ००:००  ७ : २५ बजे