२ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025

शिक्षक आन्दोलनबारे सरकारले सर्वोच्चलाई आज पठायो जवाफ



काठमाडौँ ।

शिक्षक आन्दोलनलाई ३ दिनभित्र समाधान गर्न सर्वोच्चले दिएको निर्देशनात्मक आदेशको जवाफ आज ४ दिनपछि सरकारले पठाएको छ।

सर्बोच्च अदालतले गत बिहीवार सरकारका नाममा आदेश दिँदै शिक्षकहरूका जायज माग ३ दिनभित्र समाधान गरी पठनपाठनमा फर्काउने वातावरण बनाउन शिक्षा मन्त्रालयका नाममा आदेश दिएको थियो।

३ दिनको समयसीमा पाएको सरकारले एक दिन ढिला गरी आज चौथो दिनमा जवाफ पठाएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले थाहाखबर जानकारी दिए।

अहिले पनि शिक्षा मन्त्रालयमा प्रतिनिधि र शिक्षक महासंघबीच संवाद चलिरहेकाले अबको १र२ दिनभित्र शिक्षकहरुको आन्दोलन टुंगो लाग्ने जानकारी दिए।

२५औँ दिनसम्म निकै शान्त देखिएको शिक्षकहरुको आन्दोलनले हिजो उग्ररुप लिन खोजेपछि प्रहरीसँग झडप हुँदा केही शिक्षकहरुसमेत घाइते भएका थिए।

आज २७औँ दिन पनि शिक्षकहरु वर्षाको पर्वाह नगरी आन्दोलनमै होमिएका छन्। आन्दोलनलाई सम्बोधन गर्दै नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले हजारौँ शिक्षकहरु घाइते हुन तयार रहेको बताउँदै शिक्षा ऐन जारी नभएसम्म सडकबाट पछि नहट्ने अडान दोहोर्‍याएका छन्।

शिक्षक ऐन जारी हुनुपर्ने मागको रटान लगाइरहेका शिक्षकहरुलाई त्यही शिक्षा ऐन भारी पर्न सक्ने पूर्वशिक्षामन्त्री अशोक राई बताउँछन्।

आफू शिक्षामन्त्री रहेका वेला नै ऐन जारी भएमा उनीहरु राजनीतिबाट मुक्त हुने विषयमा सम्झौता भईसकेको उनले बताए। थाहाखबरसँग कुरा गर्दे उनले शिक्षकहरुलाई राष्ट्रसेवकसरह सुविधा दिने तर त्यसवापत राजनीतिबाट मुक्त हुनुपर्ने गरी अगाडि बढ्ने सहमति भएको बताए।

पूर्वमन्त्री राईले सरकारले नै शिक्षामा लगानी नगर्दा प्रतिफल आउन नसकेको बताए। शिक्षकहरुको मर्यादाक्रम तोकिदिने र फस्टक्लास भईसकेका शिक्षकहरुलाई प्रदेशमा दरबन्दी सृजना गरेर विशिष्ट श्रेणीमा प्रतिष्पर्धा गर्न मिल्ने वातावरण बनाउन सके शिक्षकहरुको आन्दोलन सकिने उनको भनाई छ।

शिक्षकहरु सडकबाट पछि नहट्ने देखेपछि सरकारले ऐन जारी गर्ने अन्तिम तयारी गरेको छ। नेकपा एमालेका सांसद योगेश भट्टराईले यो महिनाभित्रै चित्तबुझ्दो ऐन आउने जानकारी दिए।

उक्त ऐनमा इसीडी शिक्षक र विद्यालय कर्मचारीको सेवासुविधा बढाउने गरी व्यापक छलफल भईरहेको उनले बताए। शिक्षक आन्दोलनका कारण एसईईको उत्तरपुस्तिका परीक्षण हुन सकेको छैन भने कक्षा १२ को परीक्षासमेत प्रभावित भएको छ।

वैशाखमा भर्ना अभियान सक्नुपर्ने भए पनि सबै सरकारी विद्यालय बन्द रहेकाले शैक्षिक सत्रसमेत पूर्ण रुपमा प्रभावित हुने देखिएको छ।

प्रकाशित मिति : १५ बैशाख २०८२ सोमबार ००:००  ८ : ५९ बजे