२ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025

क्यानडामा मानिसको भीडमा कार जोतिँदा ज्यान गुमाउनेको सङ्ख्या ११ पुग्यो



एजेन्सी ।
क्यानडाको भ्यानकुभर शहरको सडक महोत्सवमा मानिसहरूको भीडमा कार जोतिँदा ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको छ । फिलिपिनो समुदायले ‘लापु लापु डे’ मनाइरहेको बेलामा भीडमा एउटा कार जोतिँदा अरू धेरै मानिसहरू घाइते भएका बीबीसीले जनाएको छ ।

कार चालक ३० वर्षीय काई–जी एडम लो पक्राउ परेका छन् । उनी भ्यानकुभरका बासिन्दा रहेका बीबीसीले जनाएको छ । प्रहरीले अभियुक्त लोलाई अदालतमा पेश गरेर सामूहिक हत्याको आरोप लगाएको छ । भ्यानकुभर प्रहरीले घटनामा परेका पीडितहरू पाँचदेखि ६५ वर्ष उमेरका रहेको बताएको छ । अझै केही पीडितहरूको नाम, थर र उमेर खुल्न बाँकी रहेको खबरमा उल्लेख छ ।

भ्यानकुभर प्रहरीका कार्यवाहक प्रहरी प्रमुख स्टिभ रोयले यस घटनामा मारिनेहरूमा पुरुष र महिला दुवै रहेको बताउनुभएको छ । एक सयभन्दा धेरै प्रहरी अधिकारीहरूले यस विषयमा अनुसन्धान गरिरहेका छन् । घटनामा कुनै पनि आतङ्कवादी समूहको संलग्नता नदेखिएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८२ सोमबार ००:००  ९ : ५८ बजे