कपिलवस्तुमा ।
कपिलवस्तुमा स्रोत नखुलेको करिब ४३ लाख सहित भारतीय नागरिक पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय चन्द्रौटाको टोलीले स्रोत नखुलेको ४२ लाख ९० हजार ४४४ रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
आइतबार दिउँसो ३ बजेतिर शिवराज नगरपालिका–५, ग्यालेक्सी टोलस्थित रमेश बरईको एक घरमा डेरा गरी बस्ने भारत बलरापुर जिल्ला तुल्सीपुर थाना सोनपुरग्राम बस्ने २२ वर्षे शिवा पटवा भन्ने आषिशकुमारबाट उक्त रकम बरामद गरिएको हो । विशेष सूचनाका आधारमा उनी बस्दै आएको कोठामा छापा मारेर रकम बरामद गरिएको हो ।
विभिन्न दरको भारतीय रुपैयाँ २६ हजार ५ सय ४४ र बाँकी रकम नेपाली रहेको जिल्ला प्रहरी प्रमुख उपरीक्षक निरञ्जनदत्त भट्टले बताए । उक्त घरबाट पैसा गन्ने मेसिन एक थान र मोबाइल एक थानसमेत बरामद गरिएको छ । बरामद रकम हुन्डीलगायत अवैध कारोबारसँग सम्बन्धित हुन सक्ने आशंका गरिएको छ ।
पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया