३ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

लुम्बिनीमा २५ सयभन्दा बढी घरेलु उद्योग दर्ता



घोराही ।
लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्ष २०८१र०८२ को नौ महिनामा दुई हजार पाँच सय बढी घरेलु तथा साना उद्योगहरू दर्ता भएका छन् । लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१र०८२ को असारदेखि चैत महिनासम्म प्रदेशका १२ जिल्लाहरूमा दुई हजार पाँच सय ७९ वटा घरेलु तथा साना उद्योगहरू दर्ता भएका मन्त्रालयका सूचना अधिकारी सन्तोष सुवेदीले जानकारी दिनुभएको छ ।

सूचना अधिकारी सुवेदीका अनुसार प्रदेशका १२ जिल्लामध्ये रूपन्देहीमा सबैभन्दा बढी छ सय ८० वटा घरेलु तथा साना उद्योग दर्ता भएका छन् । त्यसैगरी बाँकेमा पाँच सय २६ वटा, दाङमा तीन सय २८ वटा, नवलपरासी पश्चिममा दुई सय ५२ वटा, कपिलवस्तुमा दुई सय ६६ वटा, बर्दियामा दुई सय ४० वटा, पाल्पामा ६४ वटा, गुल्मीमा ४२ वटा, अर्घाखाँचीमा ५८ वटा, प्युठानमा २५ वटा, रोल्पामा ६२ वटा उद्योग र रुकुम पूर्वमा ३६ उद्योग दर्ता भएका छन् । दर्ता हुनेमा अधिकांश कृषि तथा पर्यटनसँग सम्बन्धी घरेलु उद्योगहरू रहेको सूचना अधिकारी सुवेदीले बताउनुभएको छ ।

प्रदेशमा नौ महिनाकै अवधिमा एक हजार छ सय ९५ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् । बन्द हुनेमा रूपन्देहीमा दुई सय ७८ वटा, दाङमा दुई सय ७० वटा, बाँकेमा एक सय ८८ वटा, नवलपरासी पश्चिममा एक सय ३४ वटा, कपिलवस्तुमा एक सय ५९ वटा, बर्दियामा एक सय १५ वटा, पाल्पामा एक सय ७८ वटा, गुल्मीमा दुई सय चार वटा, अर्घाखाँचीमा १६ वटा, प्युठानमा ४४ वटा, रोल्पामा ९० वटा र रुकुम पूर्वमा १९ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८२ आइतबार ००:००  ७ : ३३ बजे