१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025

तराई मधेशका केही ठाउँमा अधिकतम तापक्रम ४० डिग्री नाघ्यो



काठमाण्डौ ।

तराई मधेशका जिल्लामा आज पनि गर्मी उच्च भएको छ । जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कानुसार आज रौतहटको गौरसहित केही ठाउँमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ ।

तराई मधेशका सबैजसो जिल्लाको अधिकतम तापक्रम ३९ डिग्री सेल्सियस आसपास वा त्योभन्दा माथि पुगेको छ । अधिकतम तापक्रम बढेसँगै तराई मधेशका धेरै ठाउँमा तातो हावा चलेको स्थानीय बासिन्दाले बताएका छन् ।

काठमाण्डौको अधिकतम तापक्रम पनि ३२ डिग्री सेल्सियस आसपास पुगेको छ । काठमाण्डौ उपत्यकासहित मध्यपहाडका धेरै ठाउँमा पनि तापक्रम उच्च भएको छ ।

यसैबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तराईका जिल्लामा केही दिनयता तापक्रम बढेसँगै सतर्कता अपनाउन आग्रह गरेको छ । तापक्रम बढेसँगै मौसम पूर्वानुमान महाशाखाले पनि सतर्कता अपनाउन आग्रह गरेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।

कुनै मनसुन प्रणाली सक्रिय नरहेको, पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव मात्रै देखिएकाले तापक्रम यथावत् रहने र अझै बढ्ने सम्भावना रहेको उहाँको भनाइ छ । केही समय पानी नपरे तातो लहर अर्थात् ुहिट वेभु को सम्भावनासमेत रहनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने मौसमविद् लामिछानेले बताउनुभयो ।

प्राधिकरणले चर्को घामबाट बच्नका लागि दिउँसोको समयमा बाहिर ननिस्कन, गर्मी बढाउने खानेकुरा नखान, शीतलमा बस्न र बाहिर निस्कनु परे पातलो कपडा लगाउन अनुरोध गरेको छ ।

प्रकाशित मिति : १० बैशाख २०८२ बुधबार ००:००  ७ : ४३ बजे