१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

एमाले कपिलवस्तुले मनायो स्थापना दिवस



बाबुराम रायमाझी, बुद्धभूमि ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) कपिलवस्तुले आफ्नो स्थापना दिवस मनाएको छ । मंगलबार ७६औं स्थापना दिवसको अवसरमा नेकपा एमाले जिल्ला कमिटी कपिलवस्तुले कार्यक्रम आयोजना गर्दै पार्टीको इतिहास, योगदान र भविष्यका लक्ष्यहरूबारे व्यापक चर्चा गरेको छ।

बुद्धभूमि नगरपालिका–४, बुढ्डीमा सम्पन्न उक्त कार्यक्रमले पार्टीप्रति लामो समयदेखि समर्पित १९ जना जेष्ठ कम्युनिस्ट कार्यकर्ताहरूलाई दोसल्ला र सम्मानपत्रसहित सम्मान गरेको छ। कार्यक्रमले पार्टीको इतिहास सम्झनुका साथै आगामी दिनमा संगठनलाई थप सशक्त बनाउने उद्देश्य लिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गिरिधारिलाल न्यौपानेले जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको मार्गदर्शनअनुसार पार्टी अघि बढिरहेको बताएका थिए। उनले पार्टीको सांगठनिक बिस्तारमा अहिले गुणात्मक पक्षलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए। सन् २००६ सालमा स्थापना भएको नेकपा एमालेलाई अझ शसक्त र जुझारु पार्टीको रूपमा स्थापित गर्नुपर्नेमा पनि उनले जोड दिए।

कार्यक्रममा केन्द्रीय सदस्य सुशील कुमार श्रीवास्तवले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे धारणा राखे भने निर्वाचन आयोगका सदस्य झबिलाल पोख्रेलले पार्टीको सांगठनिक संरचना र निर्वाचनसँग सम्बन्धित विषयमा प्रकाश पारे।

त्यस्तै, कार्यक्रममा केन्द्रीय परिषद्का सल्लाहकार भानु प्रकाश श्रेष्ठ, अकवल अहमद शाह, प्रदेश कमिटी सचिवालय सदस्य जंजिर प्रसाद चौधरी, प्रदेश सदस्य डम्बर शर्मा, खुम आचार्य, चक्रपाणि अर्याल, दोर्नराज सुवेदी, धर्मबहादुर लाल श्रीवास्तव, नेत्रराज अधिकारीलगायतले पनि शुभकामना मन्तव्य दिएका थिए।

कार्यक्रम नेकपा एमाले जिल्ला कमिटी कपिलवस्तुका अध्यक्ष बाबुराम खनालको अध्यक्षता, जिल्ला इन्चार्ज गिरिधारिलाल न्यौपानेको प्रमुख आतिथ्यता, उपाध्यक्ष शंकर पाण्डेको स्वागत मन्तव्य तथा सचिव सी.बी. गहतराजको सञ्चालनमा सम्पन्न भएको थियो।कार्यक्रमले पार्टी कार्यकर्तामा उत्साह भरेको र संगठनलाई अझ सशक्त बनाउँदै लैजान प्रेरणा प्रदान गरेको सहभागीहरूले बताएका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०८२ मंगलबार ००:००  ९ : २२ बजे