१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

सिद्धार्थ सहकारीले मनायो २६ औं वार्षिक उत्सव



कपिलवस्तु ।

सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २६ औं वार्षिक उत्सव भव्य रुपमा मनाएको छ । कपिलवस्तुको बाणगंगा ४ मा अवस्थित उक्त सहकारीले पंजाबी तड्का रेष्टुरेण्ट तथा पार्टी प्यालेसमा एक भव्य कार्यक्रमको आयोजना गरि सहकारीको २६ औं वार्षिक उत्सव मनाएको हो । वार्षिक उत्सवमा असल बचतकर्ता, असल बाल बचत कर्ता, असल उद्यमी, असल ऋणि, समुहका असल अध्यक्ष, असल परिवार सदस्य, ज्येष्ठ नागरिक सदस्यलाई नगद, दोसल्ला तथा सम्मान पत्र सहित सम्मान गरिएको छ भने विपन्न परिवारका वालवालिकाहरुलाई छात्रवृत्ति समेत वितरण गरिएको सहकारीका व्यवस्थापक हरिलाल शर्माले जानकारी दिनुभएको छ । साथै नव बर्ष २०८२ सालको भित्तेपात्रो समेत विमोचन गरिएको छ ।

कार्यक्रममा सम्बोधन गर्दै बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले सिद्धार्थ सहकारी जस्ता पुराना र ज्येष्ठ सहकारीले शेयर सदस्यको समृद्धि र उद्यमशिलतामा जोड्नका लागि नयाँ सहकारीलाई बाटो देखाउने काम गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मेयर अर्यालले सहकारी मार्फत उद्यमशिलता, उत्पादन र रोजगार सृजना गरि महिलाहरुलाई आर्थिक सशक्तिकरणमा योगदान गर्नुपर्ने बताउनुभयो । उहाँले सदस्यहरुलाई आर्थिक र सामाजिक क्षेत्रमा सशक्त बनाउन सिद्धार्थ सहकारीको अहम भुमिका रहेको बताउँदै अब रचनात्मक कार्य गरि नमुना सहकारीको रुपमा पहिचान बनाउन अनुरोध गर्नुभयो । उहाँले सहकार्य गरेर सामाजिक उत्तरदायित्वका कामहरु सहकारी मार्फत गर्न सकिने बताउदै ३ खम्बे अर्थनितिमा सहकारी पनि एक महत्त्वपूर्ण हिस्सा रहेको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा लुम्बिनी सहकारी संघ लिमिटेड लेखा तथा सुपरिक्षण समितिका संयोजक तेज प्रसाद आचार्य, सहकारीका निवर्तमान अध्यक्ष ईन्दिरा भट्राई, लेखा संयोजक त्रिलोचन घिमिरे लगायतले शुभकामना मन्तब्य दिंदै २६ औं वार्षिक उत्सव मनाउन पाउँदा निकै खुसी लागेको बताउँदै आगामी दिनमा सहकारीले सदस्यहरुको चाहाना र आवश्यकता अनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो ।

सहकारीका अध्यक्ष देवकला सुवेदीले २६ औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै सहकारीले आगामी दिनमा उद्यमी, रोजगार तथा स्वरोजगारका काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सहकारीका संस्थापक अध्यक्ष योगमाया पौडेल, सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष सुर्य कुमारी शाहि, लगायतको आतिथ्यता, संस्थाका लेखा समितिका संयोजक, सदस्य, विभिन्न उप समितिका संयोजक तथा सदस्य, विभिन्न संघ संस्थाका प्रतिनिधि, शेयर सदस्य, कर्मचारीहरुको उपस्थिती रहेको कार्यक्रम सहकारीका अध्यक्ष देवकला सुवेदीको अध्यक्षता, उपाध्यक्ष गीता भुसालको स्वागत तथा सचिव शोभा आचार्यको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : ७ बैशाख २०८२ आइतबार ००:००  १० : ११ बजे