१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025

विजयनगर गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न



कपिलवस्तु ।

कपिलवस्तुको विजयनगर गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ कपिलवस्तुको आयोजना र विजयनगर गाउँपालिकाको समन्वयमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । गाउँपालिकाको सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि सार्वजनिक सुनुवाई गरिएको हो ।

कार्यक्रममा जनताहरुले सेवाग्राहीलाई सास्ती, विकास निर्माणको काममा ढिलासुस्ती, स्वास्थ्य सेवा सुविधा, कृषि, शिक्षा, रोकिएका योजना लगायत क्षेत्रमा देखिएका समस्याहरुको विषयमा विभिन्न प्रश्नहरु गर्दै गुनासो गरेका थिए । गाउँपालिकामा देखिएका समस्यालाई सुधार, अझै पारदर्शी र नागरिकले पाउने सेवा सुविधालाई सहज बनाउँदै लैेजान उनीहरुले सुझावसमेत दिएका थिए । गाउँपालिकाभित्रका शाखागत उठेका प्रश्नहरुको जवाफ शाखा प्रमुखहरुले दिएका थिए ।

कार्यक्रममा प्रश्नहरुको जवाफ दिँदै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले स्थागित योजनालाई सम्बन्धित निकायसँग समन्वय गरेर अगाडी बढ्ने बताए । खासै उपलब्धी नदेखिएका वितरणमुखी कार्यक्रमलाई रोकेको बताउँदै अनुदान र सपोर्टका कुराहरुलाई अनुगमन गरिएको उनले बताए । कमीकमजोरीलाई सुधार गर्दै जाने बताउँदै आगामी दिनमा दिगोपना र प्रभावकारी रुपमा मात्र योजना बनाएर जाने अध्यक्ष थापाको भनाइ छ ।

यस्तै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले गाउँपालिकाभित्रका योजनाको अनुगमनलाई तीव्र बनाइएको बताइन् । विकास निर्माणका काममा भएका ढिलासुस्तीलाई गाउँपालिकाले निगरानी बढाउँदै अगाडी बढेको उनले बताइन् । उनले न्यायिक समितिले हेर्ने उजुरीहरुलाई प्रभावकारी भएको बताउँदै न्यायिक समितिबाट नागरिक खुसी भएको र समितिप्रति नागरिकको विश्वास बढेको जिकिर गरिन् ।

यसैगरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिएको बताए । उनले प्रशासनिक कार्यलाई चुस्तदुरुस्त बनाउँदै नागरिकले पाउने सेवा सुविधालाई छिटोछरितो ढङ्गले दिइरहेको बताए । गुनासो र सास्ती नहुने गरि कर्मचारीले सेवाग्राहीलाई सेवा दिनुपर्ने बताउँदै प्रभावकारीतामा जोड दिन उनले आग्रह गरे । कार्यक्रमलाई पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुषाल, उपाध्यक्ष दिपा महत, सदस्य राम प्रघट कोरी, जनप्रतिनिधि लगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : ५ बैशाख २०८२ शुक्रबार ००:००  ८ : ५३ बजे