दीपा महत, बहादुरगंज ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले वर्तमान सरकार केहि दिनको मेहेमान भएको टिप्पणी गरेका छन् । शुक्रबार कपिलवस्तुको बहादुरगञ्जमा आयोजित तराई–मधेश हुलाकी जागरण अभियानको सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले लोकतन्त्रको मर्म मिचेर बनेको वर्तमान सरकारलाई आफुहरुले ढाल्नै नपर्ने भन्दै आफ्नै बोझ थाम्न नसकेर सरकार आफै ढल्ने बताए ।
पूर्व प्रधानमन्त्री प्रचण्डले अहिलेको सरकार भुमाफिया, दलाल र तस्करले बनाएको सरकार भएको आरोप लगाए । उनले भने, ‘ वर्तमान सरकारको काम राम्रो काम गर्ने कर्मचारीलाई बरखास्ती गर्नु र नराम्रो काम गर्नेलाई पुरस्कार दिनु हो, कुलमान जस्ता लोडसेडिङ अन्त्य को लागि महत्वपूर्ण भूमिका खेल्ने कर्मचारीलाई अपमान पूर्वक हटाएर अरुलाई ल्याउने काम यो सरकारले गरेको छ । ’
अब जनताले वर्तमान सरकारलाई बुझिसकेको भन्दै नेपाली कांग्रेकका सबैजसो मन्त्री सरकारका विरुद्धमा बोल्न थालेको बताए । विस्तारै एमाले भित्रपनि उकुस मुकुसको वातावरण सिर्जना भएको उनको भनाई छ ।
अध्यक्ष प्रचण्डले केपी ओली नेतृत्वको वर्तमान सरकारका हरेक कृयाकलाप राष्ट्र र जनताको विपक्षमा रहेको र अहिले छिमिकी देश संगको सम्बन्ध बिग्रिएको जिकिर गरे ।
आफुबाट पनि केहि कमजोरी भएको स्विकार गर्दै अध्यक्ष दाहालले भने, ‘ हामी कहिले एमाले संग त कहिले कांग्रेससंग मिल्दा उनिहरुको रोग हामीलाई पनि सर्यो, उनिहरुलाई सरुवा रोग छ हामीले यसबारे गम्भीर रुपमा समिक्षा गर्यौ र अब सच्चीएर जनताको साथमा रहेर प्रतिक्रियावादी, जाली फटाहलाई नेपालमा पराजित गर्ने उदेश्य सहित जनताको साथमा आएको हौ ।’
एमाले र कांग्रेसले माओवादीलाई कुनै अस्तित्व नभएको सोचेको भन्दै यो पटक कसैको वैशाखी नटेकी आफ्नै खुट्टामा उभिएर जनताको विश्वासको बलमा अगाडी बढ्ने दृढ संकल्प लिएको बताए ।
जनतालाई अदालत र न्याधिस मानेर अगाडी बढेको भन्दै अब सम्पूर्ण नेपाली जनताको बीचमा गई जनताको तागत लिएर फेरि यहि सदनमा भ्रष्टचारीलाई कारवाहीगर्ने गरी आउने भन्दै आफ्नो अभियानलाई साथ दिन सबै जनसमुदायलाई आग्रह गरे ।
राजतन्त्रबारे टिप्पणी गर्दै अध्यक्ष दाहालले भने, ‘ढाई सय वर्ष शासन गरी संसारकै गरिब देश बनाउने को हुन ? देशका प्राकृतिक सम्पदाहरुलाई दोहन गर्ने र देशका बहुमुल्य मर्तीहरु बेचबिखन तथा तस्करी गर्ने कोहुन जनताले स्पष्ट बुझिकेका छन् । ’
अहिले सरकारको नराम्रो कामबाट निरुत्साहित भएका जनता एक पटक फेरि राजाहरुको तिग्डममा पर्ने खतरा देखा परेको भन्दै चैत्र १५ को आन्दोलनले राजावादीको चरित्र स्पष्ट पारिदिएको बताए ।
कार्यक्रममा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य रहिस शाह, पूर्वसांसद इलियास मुसलमानसहित दर्जनौँ व्यक्ति पार्टी प्रवेश गरेका थिए ।
प्रतिक्रिया