१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025

भर्लाबासदेखि इभी गाडी सञ्चालनमा, नागरिकलाई सहज हुने



बाबुराम रायमाझी, जितपुर ।

वातावरणमैत्री सार्वजनिक यातायात प्रणालीको प्रवर्द्धन गर्दै पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. बुटवलबाट सञ्चालनमा ल्याइएको नयाँ इभी (इलेक्ट्रिक) गाडी सेवा वाणगंगा नगरपालिका–९, भर्लाबासदेखि औपचारिक रुपमा सुरू गरिएको छ।

कार्यक्रमको प्रमुख अतिथि रहेका पूर्व स्वास्थ्य मन्त्री तथा लुम्बिनी प्रदेश सांसद बिस्नु पन्थीले एक भव्य समारोहबीच रिबन काटी सेवा शुभारम्भ गरे। कार्यक्रममा बोल्दै सांसद पन्थीले भलवाडका चार युवाको सक्रियता र पहलमा इभी गाडी सञ्चालनमा ल्याइएकोप्रति प्रसंसा जनाउँदै, स्वदेशमै बसेर उद्यम गर्न लागेकामा धन्यवाद दिए। साथै, पाँच वर्षअघि र अहिलेको भलवाडको अवस्था तुलना गर्दै उनले समृद्धिको दिशा तर्फको यो कदममा आफू पनि हरसम्भव साथ र सहयोग गर्ने प्रतिवद्धता जनाए।

कार्यक्रमका विशिष्ट अतिथि तथा वाणगंगा नगरपालिकाका मेयर चक्रपाणि अर्यालले युवा उद्यमशीलताको उच्च मूल्याङ्कन गर्दै भने, ’ यस कार्यले स्वच्छ यातायातको सुरुवात गरेको छ, स्थानीय युवालाई स्वरोजगारमा पनि टेवा पुग्नेछ। समग्र वाणगंगा–९ को विकास र समृद्धिमा यसले उल्लेखनीय योगदान पुर्याउनेछ।‘त्यस्तै वडा अध्यक्ष कमल पौडेलले पनि आफ्नो धारणा राख्दै शुभकामना दिएका थिए ।

पश्चिम नेपाल बस व्यवसायी प्रा. ल. बुटवलका प्रतिनिधि तथा रुट संयोजक राम भगत चौधरीले कार्यक्रमको उद्देश्य प्रस्ट्याउँदै भर्लाबास, मोतिपुर, बनगाई हुँदै बुटवलसम्मको मार्गमा दैनिक चारवटा इभी गाडी एक–एक घन्टाको फरकमा छुट्ने जानकारी दिए। उनका अनुसार, यसबाट स्थानीय बासिन्दालाई यात्रा गर्न सहज हुनेछ र वातावरणीय प्रदूषण पनि घट्नेछ।

समारोह राम भगत चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सहजीकरण बाबुराम रायमाझीले गरेका थिए। उपस्थित सबैजना यस नयाँ सेवा सुरुवातबाट उत्साहित देखिन्थे।

प्रकाशित मिति : ४ बैशाख २०८२ बिहिबार ००:००  १ : २५ बजे