कपिलवस्तु ।
प्रत्येक वर्ष घाटा देखाउँदै आएको प्राचीन कपिलवस्तु महोत्सव यसपटक पनि विवादास्पद बन्दै गएको छ । आठौं प्राचीन कपिलवस्तु महोत्सव तथा मेला सम्पन्न भएको एक वर्ष बितिसक्दा पनि आयोजक तौलिहवा उद्योग वाणिज्य संघ ले हालसम्म सार्वजनिक रूपमा आय–व्यय विवरण सार्वजनिक गरेको छैन ।
उद्योगी तथा व्यवसायीलाई कर प्रणालीबारे सचेत गराउने उद्देश्य राखेको संघ आफैंले आठौं महोत्सवको कर नतिरेको खुलेको छ । त्यसैबीच संघले यही बैशाख १० गते देखि २१ सम्म नवौं संस्करणको महोत्सवको मिति समेत घोषणा गरिसकेको छ ।
स्थानीय व्यवसायीहरू भने संघको दोहोरो व्यवहारप्रति आक्रोशित छन् । “ व्यवसायीकै करबाट चलेको संघले उद्योगी, व्यवसायीलाई खेलौना बनाइरहेको छ,” एक व्यापारीले बताए, “बर्षेनी घाटा देखाएर जनतालाई छल्ने काम भयो भने यो भन्दा ठुलो मजाक अरू केही हुन सक्दैन” । व्यवसायीहरूले संघमा नेतृत्वको बहुमत रहेको समूहले बहुमतको भरमा मनोमानी गर्दै आएको आरोप पनि लगाइरहेका छन् ।
बिना परामर्श कार्यक्रम घोषणा, पारदर्शिताको अभाव, र कर नतिर्ने जस्ता कार्यले संघको विश्वसनीयता गुमाउँदै लगेको उहाँहरूको भनाइ छ ।
संघले पटक–पटक महोत्सव घाटामा गएको दाबी गर्दै आएको भए पनि त्यसको प्रमाण भने हालसम्म सार्वजनिक भएको छैन । पारदर्शिताको अभाव, कर जस्तो संवेदनशील विषयमा गैरजिम्मेवार व्यवहार र कार्यक्रमको निष्पक्ष लेखापरीक्षण नहुनु संघको विश्वसनीयतामै प्रश्न खडा गरिरहेको छ ।यता, संघकै उपाध्यक्ष अजय कुमार कसौधन, महासचिव देवेश जायसवाल, र सचिव बासुदेव बर्मा (अजय) लगायत केही पदाधिकारीहरू भने महोत्सवको आय–व्यय विवरण सार्वजनिक गर्ने र पारदर्शिता सुनिश्चित गर्ने माग गर्दै आएका छन् । तर, उनीहरूको आवाजलाई बहुमतको आडमा दबाउने प्रयास भइरहेको गुनासो छ ।
प्रकाशित मिति :
३ बैशाख २०८२ बुधबार ००:०० ८ :
४० बजे
प्रतिक्रिया