८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025

प्रदेशको समृद्धिमा सामूहिक प्रयास आवश्यक



मुख्यमन्त्री आचार्यले सोमबार नयाँ वर्षको शुभकामना व्यक्त गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको हो ।

बुटवल ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ वर्ष–२०८२ लाई विगतको समीक्षा गर्ने र भविष्यको मार्गदर्शन तय गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिनुपर्ने उल्लेख गर्नुभएको छ ।

मुख्यमन्त्री आचार्यले शुभकामना सन्देशमा अतीततर्फ फर्काउने प्रवृत्तिलाई निरुत्साहित गर्दै राजनीतिक स्थायित्वमार्फत समृद्धि र विकासको चाहना पूरा गर्ने सङ्कल्प आजको प्रमुख आवश्यकता भएको धारणा व्यक्त गर्नुभयो ।

उहाँले सन्देशमा भन्नुभएको छ, “यो आशा, उत्साह र अपेक्षाको वर्ष हो । यस अवसरमा हामीले थाती रहेका योजना र सङ्कल्पलाई कार्यान्वयनमा ल्याई प्रदेशको समृद्धि र समुन्नतिका लागि सामूहिक प्रयास गर्नु आवश्यक छ ।”

मुख्यमन्त्री आचार्यका अनुसार लुम्बिनी प्रदेश सरकारले जनचाहना अनुसार सुशासन प्रवर्धन गर्न र भ्रष्टाचारविरुद्ध रणनीतिक योजना निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्न थालिएको छ । प्रदेश सरकारले आफ्ना कामकाजलाई सुशासनमैत्री बनाउँदै लगेको मुख्यमन्त्री आचार्यको शुभकामना सन्देशमा उल्लेख छ ।

मुख्यमन्त्री आचार्यले संविधानले प्रत्याभूत गरेका अधिकार कार्यान्वयनका लागि सरकारले विविध नीति तथा कार्यक्रममार्फत निरन्तर प्रयास गरिरहेको बताउँदै जनताको विश्वास र भरोसाको सरकार बनाउने दिशामा प्रदेश सरकार दृढतासाथ अघि बढिरहेको उल्लेख गर्नुभयो ।

उहाँले स्थानीय उत्पादनमा आधारित उद्यमशीलताको विकासलाई प्रोत्साहन गर्न नवप्रवर्तन कार्यक्रम सञ्चालन गरिएको जानकारी दिँदै शून्य संरचनाबाट सुरु भएको प्रदेशलाई संस्थागत गर्दै सबल, सक्षम र जनउत्तरदायी बनाउने दिशामा उल्लेखनीय प्रगति हासिल गरिएको उल्लेख गर्नुभएको छ ।

उहाँले नयाँ वर्ष–२०८२ सबैमा न्याय, समानता, अवसर र गरिमामय जीवनको प्रत्याभूति दिलाउने सभ्य र समुन्नत समाज निर्माणका लागि प्रेरणा बनोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २ बैशाख २०८२ मंगलबार ००:००  १० : ४३ बजे