२० बैशाख २०८२, शनिबार | Sat May 3 2025

कपिलवस्तुमा भरुवा बन्दुक पड्किएर एकको मृत्यु, ३ जना पक्राउ



दीपा महत, बुद्धभूमि ।

कपिलवस्तुमा भरुवा बन्दुक पड्किएर एक जनाको मृत्यु भएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका ९ गब्दहवा निवासी २८ वर्षिय समुन्द्र गाहा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

चैत्र ३० गते मृतक समुन्द्र गाहासहित गब्दहवाकै ३४ वर्षिय राम बहादुर थारु र सोही ठाँउकै कालु भनिने ३६ वर्षिय राम थारु शिकार खेल्न गाँउदेखि ६ किलो मिटर उत्तर तर्फ रहेको अर्घाखाँची कपिलवस्तु सिमानामा अवस्थित बुद्ध यशोधरा सामुदायिक वनमा गएका थिए ।
सोही दिन दिउँसो ४ बजे जंगल किनारमा पुग्दा गाडीको आवाज सुनेपछि भाग्दै गर्दा राम थारुले बोकेको भरुवा बन्दुक पड्किएर समुन्द्र गाहालाई लागेको थियो । गोली लागेसंगै गाहा घाइते भएका थिए । समुन्द्र घाइते भएपछि उनिसंगै शिकार खेल्न गएका दुई जना साथीले अन्य कसैलाई जानकारी नगराई उपचारका लागि भैरहवा मेडिकल कलेज पुर्याएका थिए ।
गाहालाई अस्पताल लग्नसाथ डाक्टरले मृत घोषणा गरेका थिए । घटनाबारे जानकारी पाउन साथ इलाका प्रहरी कार्यालय गोरुसिंगेको प्रहरी टोली घटना स्थल पुगेको थियो । प्रहरीले आज आइतबार ३ जनालाई पक्राउ गरेको छ । साथै शिकार खेल्न प्रयोग भएका दुई नाल भरुवा बन्दुक बरामद गरेको छ । उक्त बन्दुक एउटा फायर भएको रहेको र अर्को लोडेड अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले शिकार खेल्न गएका राम बहादुर थारु, राम थारु र हतियार लुकाउन सहयोग गर्नें प्रवेश थारुलाई पक्राउ गरी अनुसन्धान प्रकृया अगाडी बढाएको प्रहरी नायव उपरिक्षण मोहनमणी अधिकारीले बताए ।

प्रकाशित मिति : ३० चैत्र २०८१ आइतबार ००:००  १० : १६ बजे