बाबुराम रायमाझी, जितपुर ।
वाणगंगा नगरपालिका–७, बनगाईस्थित क्रियटिभ बहुउद्देश्यीय समूहले नेपाली नव वर्ष २०८२ को पावन अवसरमा कपिलधाम आरोग्य मन्दिर परिसरमा रहेका बटुकहरूलाई फलफूल तथा भोजन वितरण गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा समूहका अध्यक्ष रुकबहादुर भुसालले धार्मिक, ऐतिहासिक, पवित्र तथा पर्यटकीय महत्व बोकेको कपिलधामको प्रवर्द्धन तथा विकासमा सहभागी हुन पाएकोमा आफू गौरवान्वित रहेको बताउँदै भविष्यमा पनि निरन्तर साथ र सहयोग रहने प्रतिवद्धता जनाए।
त्यसैगरी, कपिलधाम आरोग्य मन्दिरका अध्यक्ष शंकरप्रसाद आचार्यले क्रियटिभ समूहको योगदानको उच्च प्रशंसा गर्दै संस्थाले जिल्लामा धार्मिक जागरण मात्र नभई धामको समुचित व्यवस्थापनमा समेत योगदान पुर्याउँदै आएको बताए। उनले कपिलधामलाई जिल्लाकै नमूना धार्मिक स्थलको रूपमा परिचित गराउन सबैको समन्वय र सहयोग आवश्यक रहेको धारणा राखे।
कार्यक्रममा नेपाल पत्रकार महासंघ, कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले कपिलधाम अब राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत चिनिन थालेको उल्लेख गर्दै सञ्चार माध्यमबाट यसको प्रवर्द्धन र प्रचारप्रसारमा पत्रकार महासंघ सधैं साथ रहने बताए।
उक्त कार्यक्रम समूहका अध्यक्ष रुकबहादुर भुसालको अध्यक्षतामा र सचिव नवीन भुसालको सहजीकरणमा सम्पन्न भएको थियो। कार्यक्रममा समूहका उपाध्यक्ष बिष्णु पौडेलले उद्योगी, व्यवसायी, कर्मचारी लगायत विभिन्न पेशामा आवद्ध व्यक्तिहरूको समावेशमा पूर्ण रूपमा नाफारहित उद्देश्यका साथ स्थापना गरिएको समूह सामाजिक उत्तरदायित्व बोक्दै अगाडि बढिरहेको जानकारी दिए।
यस अवसरमा बटुकहरूलाई न्यानो सत्कार, पूजा सामग्री, फलफूल तथा भोजन प्रदान गरिएको थियो। कार्यक्रमले समाजमा धार्मिक चेतना फैलाउनुका साथै कपिलधाम जस्ता ऐतिहासिक तथा धार्मिक स्थलहरूको प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया