२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025

खोलाले बगाएको डाइभर्सन बनाएपछि बुटवल–नारायणगढ सडक सञ्चालन



नवलपरासी ।

पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्डमा यातायात सञ्चालन भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीबासमा रहेको विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि हिजो बिहानदेखि पूर्णरूपमा अवरुद्ध भएको सडक राति ९ बजेदेखि सञ्चालनमा आएको हो ।

विनयी खोलामा डाइभर्सन बनाएर एकतर्फी बाटो सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापूर्व०का प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो । गत पुस २६ गते भारतीय ठूलो ट्रक पास हुने क्रममा विनयी खोलाको पुल भाँचिएपछि बनाइएको डाइभर्सन खोलाले बगाएपछि हिजो दिनभर सडक अवरुद्ध भएको थियो । बाढीले डाइभर्सन नै बगाएपछि सयौँ यात्रु तथा गाडी बीच बाटोमा अलपत्र परेका थिए ।

डाइभर्सन नहुँदा नारायणगढ–बुटवल भएर चल्ने गाडी पूर्ण रूपमा अवरुद्ध भएका थिए भने अत्यावश्यक साधनलाई होङ्सी सिमेन्ट उद्योगको बाटो भएर आवतजावत गराइएको थियो । दाउन्ने क्षेत्रमा कालोपत्र सडक खनेर विस्तार भइरहेको अवस्थामा बिहीवार बिहान परेको वर्षाले सडक हिलाम्य भएपछि यस क्षेत्रको आवागमन अस्तव्यस्त बनेको छ ।

दाउन्ने क्षेत्रमा हिलो माटो हटाएर केही सहज बनाइएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिनुभयो । यस क्षेत्रमा गएको बुधवारदेखि आजसम्मका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म आवागमन बन्द गरेर मर्मत शुरु गरिएको छ । यसैगरी भोलिदेखि वैशाख १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म आवागमन रोकेर बिस्तारको तयारी गरिएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८१ आइतबार ००:००  ८ : ३७ बजे