२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025

सिद्धबाबा सुरुङमार्गको काम समयमै सक्छौँः अर्थमन्त्री पौडेल



पाल्पा ।

अर्थमन्त्री विष्णु पौडेलले सिद्धबाबा सुरुङमार्ग समयमा सकिने दाबी गरेका छन्। शुक्रबार बेलुकी सुरुङमार्गको स्थलगत अवलोकन गर्दै उनले समयमा नै यसको निर्माण कार्य सम्पन्न हुने बताए।

यस सुरुङमार्गले हरेक योजना समय सकिन्छ भन्ने मान्यता स्थापित गर्ने बताए। ‘सुरुङ निर्माणको काम अरू पूर्वाधारभन्दा जटिल काम हो’ उनले भने ‘तर यो काम पनि हामीले समयमै सक्नेछौँ। यसले पूर्वाधार निर्माणमा एउटा छुट्टै उदाहरण कायम गर्नेछ।’

सुरुङ त समयमा बन्न सक्छ भने अरू आयोजना किन नबन्ने भन्ने खालको मान्यतालाई स्थापित गर्ने अर्थमन्त्री पौडेलले बताए। अन्य सबै आयोजनालाई समयमा सक्नका निम्ति यसले प्रेरणा र दबाब दिने उनी बताउँछन्।

यो सुरुङमार्ग समयमा सकिन पर्छ। सरकारले समयमा सक्नेगरी निर्माण कार्यअगाडि बढाउन जोडदिइरहेको छ। भौतिक पूर्वाधार मन्त्रालय, अर्थ मन्त्रालय, निर्माण कम्पनी लगायत सम्बन्धित सबै निकायले चासोका साथ समन्वय गरिरहेको उनले बताए। निर्धारित समयमा सकिएको आयोजनाको रूपमा यस सुरुङमार्गलाई स्थापित गर्ने सरकारको मुख्य लक्ष्य रहेको अर्थमन्त्री पौडेलले बताए। सोही अवसरमा यहाँ काम गरिरहेका सबै कर्मचारी तथा मजदुरलाई अहिलेसम्मको कामप्रति धन्यवाद दिए। बाँकी काम समयमा सक्न अनुरोध गरे।

सुरुङ मार्ग बनेपछि यहाँ सुरक्षित यात्रा हुनेछ। यो सिद्धार्थ राजमार्गको जोखिमयुक्त यात्राबाट सुरक्षित यात्रामा बदल्ने यहाँका आम मानिसको चाहना छ। उनले थपे ‘त्यो चाहनालाई सार्थकता दिने सरकारको प्रयास हो। तीव्र गतिमा काम भइरहेको छ। समयमा काम सम्पन्न भएर यात्रुले सुरक्षित यात्रा गर्न पाउनेछन्।’

सुरुङको मुखबाट बाहिर निस्केपछि करिब तल्लो सिद्धबाबा र दोभान साइडतर्फ रकसेड हुने उनले बताए। जुन पुरानो बाटो छ। त्यहाँ रकसेड निर्माण गरिनेछ। रकसेडबारे धेरैलाई थाहा नहुन सक्छ। राजमार्गमाथि छाना बन्नेछ। माथिबाट खसेको पहिरो छानाबाट बाहिर जाने छ। सडकमा पहिरो आउनबाट रोक्ने छ। सुरक्षित यात्रा गर्न सहज हुने अर्थमन्त्री पौडेलले बताए।

बुटवलदेखि पोखरासम्मको समग्र सिद्धार्थ राजमार्गलाई स्तरोन्नति गर्ने कामलाई सरकारले प्राथमिकता दिएको समेत उनले बताए।

उनीसँगै नेकपा एमालेका सचिव पद्मा अर्याल, नेता खिमलाल भट्टराई, पाल्पा क्षेत्र नम्बर २ का सांसद ठाकुर गैरे, लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारु आयोजनाका इन्जिनियर लगायतले अवलोकन गरेका थिए।

प्रकाशित मिति : २९ चैत्र २०८१ शनिबार ००:००  ११ : २२ बजे