नवलपुर ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटबल सडक खण्डको दाउन्नेमा ट्राफिक जाम व्यवस्थापन गर्न नवलपुर खण्डमा मात्रै डेढ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
बाटो चिल्यो भएर सवारी साधन चल्न नसकेपछि सडक मर्मत, ट्राफिक व्यवस्थापन, खाल्डाखुल्डी पुर्ने, हिलो हटाउनेदेखि साना गाडी धकेल्न र ठूला गाडीलाई जेसिबी लगाएर घकेल्ने प्रहरी खटाउनु परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो ।
सवारी साधन राम्ररी पास हुन नसक्दा यात्रुहरुको विचल्ली भएको छ । आज दाउन्ने क्षेत्रमा नवलपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रमुख लगायतको टोली खटेको थियो । प्रहरी उपरीक्षक ढकालले दाउन्नेको पूर्व खण्डमा मात्रै ७र८ ठाउँमा बाटो एकतर्फी रहेको बताउनुभयो ।
ढकालका अनुसार अहिले पूर्वी खण्डमा मात्रै ३ हजार बढी सवारी साधनहरु जाममा फसेका छन् । आज विहानैदेखि घाम लागेको कारण हिलो सुकेपछि विस्तारै सवारी साधन पास हुन थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक जनकराज बन्जराले जानकारी दिनुभयो ।
दुई फिटसम्म जमेको धुलोमा हल्का पानी परेपछि बाटो चिप्लो भएर गाडी चल्न नसकेका हुन् । चैत २७ गतेदेखि बिहान ११ देखि दिउँसो ३ बजेसम्म सवारी साधन रोकेर बाटो बिस्तारको काम गरिएको थियो । तर २७ गते रातीदेखि परेको हल्का वर्षाका कारण यात्रुले सास्ती पाएका हुन् ।
प्रतिक्रिया