रोल्पा ।
रोल्पामा छुट्टाछुट्टै चारवटा चट्याङका घटनामा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन ।
बुधबार रातिको समयमा हावाहुरी सहितको चट्याङमा परी सुनिलस्मृति गाउँपालिका–५, काप्जिङ निवासी झम्के खत्रीकी १६ वर्षीया छोरी धनमाया खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिनुभयो ।
घरमा सुतिरहेको अवस्थामा परेको चट्याङमा पर्दा धनमायाको घटनास्थलमै मृत्यु भएको हो । घरमै रहेका अन्य परिवारका सदस्यहरु भने सकुशल रहेको बताइएको छ ।
चट्याङकै घटनामा परी सोही गाउँका दुई जना घाइते भएका छन् । स्थानीय टीकाबहादुर खत्रीका छोरा वर्ष १५ का नवीन खत्री चट्याङ लागेर घाइते भएको र उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ ।
त्यस्तै सोही गाउँका टीकाबहादुर घर्तीको घरमा पनि चट्याङ परेको छ । चट्याङले लागेर उनका १३ वर्षीया छोरी लीला घर्ती सामान्य घाइते भएको बताइएको छ । घाइते लीलाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिनुभयो ।
यसैगरी सुनछहरी गाउँपालिका–३ बर्गोमा पनि चट्याङले घरमा क्षति भएको छ । स्थानीय कुलबहादुर बुढाको ढुंगा, माटो र टिनले छाएको कच्ची घरमा चट्याङ पर्दा सोलार प्यानल, ब्याट्री र साउन्ड बक्स जलेर पूर्ण रूपमा क्षति भएको साथै घरको भित्ता समेत चर्किएको बताइएको छ ।
प्रतिक्रिया