काठमाण्डौ ।
लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न ठाउँमा वर्षासँगैको हावाहुरीले विद्युत र टेलिफोन सेवा अवरुद्व भएको छ ।
कर्णालीमा गएराति आएको हावाहुरीले रुख ढाल्दा विद्युत् र टेलिफोन सेवा बन्द भएको छ । कोहलपुर–सुर्खेत ३३ केभी र पश्चिमको कुइने–बाबियाचौर–वीरेन्द्रनगर ३३ केभी लाइन अवरुद्ध भएको विद्युत् प्राधिकरण सुर्खेत वितरण कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइन सुर्खेतको रामघाटसम्म मात्र सञ्चालनमा आएको छ । विद्युत सेवा अवरुद्ध हुँदा टेलिफोन सेवा सञ्चालन गर्न कठिनाइ भएको नेपाल टेलिकमको प्रदेश कार्यालय सुर्खेतले जनाएको छ ।
यस्तै लुम्बिनी प्रदेशका केही ठाउँमा पनि हावाहुरीले घरका छाना उडाउनुका साथै रुख ढलाएको छ । यसैबीच वर्षासँगै पहिरो खस्दा रुकुम, कालिकोट र सल्यानमा सडक अवरुद्ध भएको छ ।
राप्ती राजमार्गमा पर्ने रुकुम पश्चिमको मुसिकोटमा पहिरोले सडक पूर्ण रुपमा बन्द भएको छ । यस्तै सुर्खेत–हुम्ला सडक खण्डमा पर्ने कालिकोटको पचालझर्ना र जाजरकोट सडक खण्डमा पर्ने सल्यानको बनगाड कुपिन्डेमा पनि सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया