२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025

नयाँ वर्षमा घुम्ने योजनामा हुनुहुन्छ ? यी हुन् कपिलवस्तुका पर्यटकीय गन्तब्य



दीपा महत, बुद्धभूमि ।

नयाँ वर्षमा साथीभाई तथा घर परिवारसंग घुमफिर गर्ने मिठो परिकार खाने र मनोरन्जन गर्ने धेरैको चाहाना हुन्छ । नयाँ वर्ष २०८२ सुरु हुनै लाग्दा धेरै जनाले घुमफिर गर्ने योजना बनाएका छन् ।

यसपालि नयाँ वर्षको पहिलो दिन सोमबार परेको छ । धेरैले त आइतबार नै कतै गएर बस्ने सोच बनाइसक्नुभएको होला । तर जिल्लामै रहेका केहि पर्यटकीय स्थलमा गएर नयाँ वर्ष मनाउछु भन्नेका लागि हामीले केहि पर्यटकिय गन्तब्य उल्लेख गरेका छौ । बुद्ध नगरी कपिलवस्तुमा पनि यस्ता रमणीय स्थल छन् जहाँ गएर नँया वर्षलाई स्वागत गर्न सकिन्छ । प्राकृतिक तथा सांस्कृतिक सम्पदाले धनी कपिलवस्तुमा बुद्धका ऐतिहासिक स्थलसहितका ठाँउहरु छन् ।
हामीले जिल्ला अग्रज ब्यक्तीत्वले दिएको जानकारीका आधारमा केहि ठाउँ सुझाएका छौं । जहाँ तपाईंहरू नयाँ वर्षको अवसरमा घुम्न जान सक्नुहुन्छ ।
तिलौराकोट
बुद्धले २९ वर्ष बिताएको तिलौराकोट जिल्लाको प्रमुख पर्यटकिय गन्तब्य हो । तिलौराकोट सदरमुकाम तौलिहवा देखि ३ किलोमिटर उत्तरपश्चिममा रहेको छ । वाणगंगा भागीरथी नदीको पूर्वीय तटमा अवस्थित यस स्थानमा प्राचिन पुरातात्विक भगनावशेषहरु रहेका छन् ।
भगवान बुद्धका पिता राजा शुद्धोधनको राजप्रसाद रहेको यसै स्थानमा आजभन्दा २५५५ वर्ष पुर्व भगवान बुद्धले आमा मायादेवीको गर्भमा बास गरेका थिए र लुम्बिनीमा जन्म भई तिलौराकोटमा २९ वर्षे जीवनयापन गरेको यो स्थान हो । जहाँ पुरातात्विक आधारहरु प्रशस्त रहेका छन । तिलौराकोटमा स्वदेशी संगै विदेशी पर्यटक आउने गर्दछन् । शान्त तथा मनोरम वातावरणमा रहेको तिलौराकोट नयाँ वर्षमा घुम्नका लागि उत्कृष्ट विकल्प हुन सक्छ ।
कुदान
तपाई यो वर्ष परिवारसंग नयाँ वर्षमा घुम्न जाने सोचमा हुनुहुन्छ भने कुदान पनि उपयुक्त विकल्प बन्न सक्छ । शान्त मनोरम वातावरण भएको कुदान सदरमुकाम तौलिहवा देखि ३ किलोकिटर दक्षिणमा पर्दछ । गौतम बुद्धले बुद्धत्व प्राप्त गरिसकेपछि पहिलोपटक आफ्नो पिता राजा शुद्धोधनसंग भेट भएको स्थान कुदान हो । कुदानमा आएर तपाइले प्रकृतीसंगै आनन्द लिन सक्नुहुने छ । अहिले गर्मीको समय भएकाले पनि कुदानमा शितल छहारीसंगै स्वच्छ वाताबरण पाउनुहुनेछ ।

निग्लिहवा
प्राचीन कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा बजारदेखि उत्तर पूर्व करिब ८ किमि को दूरीमा रहेको प्राचीन निग्लिहवा अर्थात शोभावती नगर कपिलवस्तुकै उत्कृष्ट पर्यटकिय स्थल हो । जहाँ कनकमुनी बुध्दको जन्म भएको थियो ।
यो स्थल गौतम बुध्दको जन्मस्थल लुम्बिनीबाट करिब ३२ कि मि को दूरीमा छ । यही स्थलमा कनकमुनी बुध्दले बुध्दको ज्ञान पाएका थिए । यहाँ अशोक स्तम्भ दुई टुक्रामा रहेको अवस्थामा छ । विभक्त अशोक स्तम्भ १४ फिट ९ इन्च लामो माथिल्लो टुक्रालाई जमिनमा गाडिएर रहेको अभिलेखसहितको पहिलो टुक्रा भएको स्थानमा मन्दिरभित्र संरक्षण गरिएको छ । ऐतिहासिक महत्व बोकेको निग्लिहवा पनि तपाईको लागि पर्यटकिय गन्तब्य बन्न सक्छ । त्यहा गएर तपाईले कनकमुनी बुद्धको बारेमा थप जानकारी र केहि ऐतिहासिक स्तम्भहरुको अवलोकन गर्न सक्नुहुनेछ ।

कपिलवस्तु संग्राहलय
कपिलवस्तुमा घुम्नको लागि प्रमुख गन्तब्य मध्ये कपिलवस्तु संग्राहलय पनि एक हो । नेपालकै एक मात्र पुरातात्त्विक संग्रहालय भएपनि प्रचारप्रसार र पुर्वाधार अभावले कपिलवस्तु संग्रहालय ओझलमा पर्दै आएको छ ।
७ बिघा क्षेत्रफल रहेको संग्रहालयमा ईसापुर्व आठौ, शताब्दीको मौर्यकालीन तेस्रो सताब्दीको सुङघकालीन कुसाङकालीन समयका माटाका भाडा, चादीका सिक्का लगायतका विभिन्न महत्वपुर्ण सामग्री छन् । तपाई पनि कपिलवस्तु संग्राहलयमा गएर त्यहाका ऐतिहासिक सामग्रीको अवलोकन गर्दै नयाँ वर्ष मनाउन सक्नुहुनेछ ।

अरौराकोट
ऐतिहासिक महत्व बोकेको पर्यटकीयस्थल अरौराकोट पनि घुम्नको लागि उत्कृष्ट स्थल हो । कनकमुनि बुद्धले आफ्नो बाल्यकाल तथा वैवाहिक जीवन व्यतीत गरेको ठाउँ अरौराकोट जति सुन्दर छ त्यतिनै शान्त तथा मनोरम पनि । त्यहाको वातावरणले जो कोहीको पनि मन लोभ्याउने गर्दछ । ऐतिहासिक महत्व बोके पनि प्रचारप्रसारको अभावमा अरौराकोट ओझेलमा छ । यसरी नयाँ वर्षको अवसरमा अरौराकोटमा घुम्न गएर आन्तरिक पर्यटन प्रर्वदन संगै ऐतिहासिक महत्व बुझ्न सकिनेछ ।
सगरहवा
ऐतिहासिक स्थल सगरहवा कपिलवस्तु नगरपालिका वडा नम्बर ९ मा अवस्थित छ । ७७ हजार शाक्यको सामूहिक वध भएको स्थलका रुपमा मानिएको सगरहवामा गएर पनि नयाँ वर्षलाई स्वागत गर्न सकिन्छ ।
शाक्यमुनी बुद्धको जीवनको उत्तराद्र्धतिर कोशाला राज्यका राजा विरुढकले प्रतिशोधका कारण कपिलवस्तु राज्यका शाक्यहरूको वध गरेको स्थानका रुपमा सगरहवालाई चिनिन्छ । प्रचारप्रसारको अभावकै कारण पछाडी परेको सगरहवामा एक पटक गएर त्यहाको पर्यटन प्रर्बद्धन गर्न सकिन्छ ।
जगदीशपुर ताल
जगदीशपुर ताल कपिलवस्तुकै उत्कृष्ट पर्यटकिय गन्तब्य हो । अन्य समयमा पनि भिडभाड हुने जगदीशपुर तालमा नयाँ वर्षमा पर्यटकको घुइँचो लाग्ने गर्दछ । विश्व सिमसार एवम् पंक्षि आरक्ष क्षेत्र कपिलबस्तुको जगदीशपुर तालमा आएर डुङ्गामा सयर गर्दै रमाउन सकिन्छ ।
ताल १ सय ५७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । सन् २००३ मा विश्व सिमसार क्षेत्रमा सूचिकृत भएको थियो । ताललाई लुम्बिनी प्रदेश सरकारको पहलमा सन् २०२२ मा वार्ड स्याङचुरी (पंक्षि आरक्ष) क्षेत्र घोषणा गरिएको थियो ।
सदरमुकाम तौलिहवादेखि करिब ११ किमी उत्तर कपिलवस्तु नगरपालिका–९ मा पर्ने कृत्रिम रूपमा बनाइएको नेपालकै सबैभन्दा ठूलो यो ताल नयाँ वर्षमा पर्यटकका लागि मुख्य गन्तब्य बन्न सक्छ । जगदीशपुर तालमा गएर त्यहाको भ्यूटावरबाट तालको दृष्यावलोकन गर्न सकिन्छ भने तालमा सयर गर्न सकिन्छ ।
कपिलधाम
बाणगंगा नगरपालिकामा अवस्थित कपिलधाम पछिल्लो समय प्रमुख पर्यटकिय गन्तब्य बनेको छ । नयाँ वर्ष २०८२ को अवसरमा परिवारसंगै कपिलधाम घुम्न जान सकिन्छ । वाणगङ्गा नगरपालिका–९ भलवाडमा अवस्थित कपिलधाम ७२ बिघा क्षेत्रफलमा छ ।
कपिलधाम विकास समितिले ऋषिहरुको सम्झनामा आठ शालिकसमेत राखेको छ । कपिलधामको वातावरण तथा त्यहाको मनोरम दृष्यले पर्यटकलाई लोभ्याउने गर्दछ ।
कपिलधाम संस्थाको क्षेत्रभित्र जडिबुटीका बोटबिरुवा, योगशिविर, रुद्राभिषेक, हवन, पाटीपौवा, ध्यानकेन्द्र, गौशाला, धर्मशाला लगाएत रहेका छन । जसले झन मनमोहक बनाउँदछ ।
मधुवनधाम
कपिलवस्तुको बाणगंगा नगरपालिका ८ मा अवस्थित मधुवनधाम पछिल्लो समय पर्यटकीय गन्तब्य बनेको छ । रामायणकालिन इतिहास बोकेको र महर्षि श्रृगिंको जन्म तथा कर्मभूमि मधुवनधामको अवलोकनका लागि पनि त्यहा पर्यटक जाने गर्दछन् ।
ध्यानकेन्द्रसमेत रहेको मधुवनधाम एकान्त शान्त वाताबरणमा अवस्थित छ । त्यसकारणपनि मधुवनधाम धेरैको रोजाई बन्न सक्दछ ।
लक्ष्मणघाट
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा न ६ मा अवस्थित लक्ष्मणघाट एक पबित्र धार्मिक स्थल हो । भगवान लक्ष्मण बनबास जाँदा बाणगंगा नदीमा स्नान गरी नदी तरेकाले यस ठाउँलाई लक्ष्मणघाट नामाकरण गरिएको प्राचीन किवदन्ती रहेको छ ।
धार्मिक एवं पर्यटकीय स्थल लक्ष्मणघाट आन्तरिक एवं वाह्य पर्यटकका लागि रमणीय स्थल हो तपाईपनि यो नयाँ वर्षमा लक्ष्मणघाटमा जानसक्नुहुनेछ ।
मधौली पार्क (लभ पार्क)
तपाई यदि सामाजिक संजाल टिकटक फेसबुक चलाउनुहुन्छ भने लभ पार्कको बारेमा जानकार हुनुहुन्छ । मधौली पार्कबाट पनि चिनिने यस पार्क पनि पर्यटकको प्रमुख रोजाई हो । लभ पार्कमा आएर धेरैले फोटो खिच्ने भिडियो बनाउने गर्दछन् यो पार्क सामाजिक संजालमा भाइरल पनि छ । पर्यटक बढ्न थालेसंगै लभ पार्कलाई थप म्यवस्थीत बनाइएको छ । त्यहा ढकमक्क फुलेका फुलले धेरैको मन लोभ्याउदछ भने पर्यटकलाई केन्द्रित गरेर विभिन्न फोटो जोन निर्माण गरिएको छ । साथै विभिन्न जातजातिका ड्रेसहरुपनि उपलब्ध छन् ।
पुर्व पश्चिम राजमार्ग देखि झण्डै २ किलोमिटर दक्षिणमा पर्ने उक्त पार्क मधौली सामुदायिक वनको योजना अनुसार पर्यटकीय स्थलको रुपमा विकास गरिएको छ ।
घुमफिर गर्न र त्यहाँको वस्तुस्थितिबारे जानकारी लिन अहिले कपिलवस्तु सँगै रुपन्देही र अर्घाखाँचीबाट समेत पर्यटकहरु आउने गरेका छन् ।
राजापानी
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ३ मा पर्ने राजापानी क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको गन्तब्य बनेको छ । नयाँ वर्षमा तपाई कपिलवस्तुमै घुम्न चाहानुहुन्छ भने राजापानी पनि प्रमुख गन्तब्य बन्न सक्छ ।
पूर्वपश्चिम राजमार्गमा पर्ने पिपरा चोकबाट करीब ५ किलोमिटरको दुरिमा अवस्थित ऐतिहासिक महत्व बोकेको राजापानी क्षेत्र फरक विशेषताहरुले भरिएको छ । राजापानी मुल बुद्धसंग समेत सम्बन्धित रहेको छ । गौतमबुद्धका बुवा राजा सुद्धोधन तिलौराकोट दरवार देखि आफ्नो ससुराली देवदह जाने क्रममा यो बनको बाटो भएर समेत जाने गरेको र जाने क्रममा यसै राजापानी मुलको पानी पिउनुको साथै यहाँ रहेको चौरमा विश्राम गर्ने गरेको समेत जानकारले बताउँछन् ।
शुरुमा यो मुलको जे जस्तो नाम रहेता पनि राजा सुद्धोधनले पानी पिउने र विश्राम गर्ने गन्तब्य बनाए पश्चात यो मुलको नाम राजापानी रहेको भन्ने भनाई छ । तपाई राजापानी गएर पनि नयाँ वर्ष २०८२ लाई स्वागत गर्न सक्नुहुनेछ ।

कैलाश आश्रम
कपिलवस्तुको बाणगंगा नदीको पूर्वतटमा अवस्थित कैलाश आश्रम जिल्लाकै धार्मिक गन्तब्य हो । जुन विभाण्डक ऋषिको तपोभुमिको रुपमा रहेको छ । यसै स्थानमा विभाण्डक ऋषिले तपस्या गरी रहँदा तपोवलको प्रभावले स्वर्गलोक समेत कम्पमान भई स्वर्गका राजा इन्द्रले तपस्या भंग गराउन उर्वर्शी अप्सरालाई पठाएका थिए ।
उर्वर्शीले त्यहि नजिकैको पोखरीमा डुबेको बाहाना गरी ऋषिको ताप भङग गरेकी थिइन् । त्यहि पोखरीमा ऋषिको वीर्य पतन भई केहीबेर पछि हरिणले पानी पिउँदा उर्वर्शी गर्भेणी भएकी थिई । त्यही गर्भबाट बारुण शास्त्र तथा पुत्रेस्टीका ज्ञाता महर्षि श्रृङगीको जन्म भएको थियो । त्यस्तो पवित्र स्थल हो नन्दनगर ।
हाल त्यहाँ संस्कृत पाठशाला संचालन भैरहेको छ भने त्यहाँ विभिन्न देवी देवताहरुका मन्दिर रहेका छन् । हेर्दा निकै रमणीय स्थलमा पुग्नका लागि पूर्व पश्चिम राजमार्गको बैरीयाबाट ३ किमि उत्तरतर्फ पक्की सडक मार्फत पुग्न सकिन्छ । तपाई नयाँ वर्ष मनाउन कैलाश आश्रम पनि जान सक्नुहुन्छ ।
शिवगढीधानखोला
तपाई अहिलेको नयाँ वर्ष धार्मिक स्थलमा गएर मनाउन चाहानुहुन्छ भने जिल्लामा धार्मिक स्थलपनि रहेका छन् । जिल्लाका तौलेश्वरनाथको मन्दिर, पिपराको सुपादेउराली मन्दिर, झडुला मन्दिर यस्तै अर्को प्रमुख धार्मिक स्थल हो शिवगढी मन्दिर जहाँ गएर नयाँ वर्षलाई स्वागत गर्न सक्नुहुनेछ ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा अवस्थित शिवगढी मन्दिर चन्द्रौटा देखि रमुवादह हुँदै करिब १७ किलोमिटरको दुरीमा रहेको छ । यो मन्दिर पुर्व–पश्चिम महेन्द्र राजमार्गको धानखोला देखि ७ किलोमिटर उकालो चढेपछि पुगिन्छ ।
कपिलवस्तु र दाङको सीमा क्षेत्रनजिकै कपिलवस्तुको शिवराज नगरपालिकामा रहेको शिवगढी मन्दिरले पनि पर्यटकलाई आकर्षित गर्ने गरेको छ । महेन्द्र राजमार्गको छेउमा पर्ने यो मन्दिर प्राकृतिक सम्पदाले मनोरम दृश्यले सिंगारिएको भएपनि पहाडको टुप्पोमा रहेको छ । जुन मन्दिरलाई शिवगढी किल्लाको रुपमा पनि चिन्ने गरिन्छ ।
शिवगढी किल्ला र त्यहाँ रहेको शिव मन्दिर जहाँ बर्षेनी हजारौं देश विदेशका धार्मिक पर्यटकहरु अवलोकन गर्न पुग्ने गर्दछन् । कम चर्चा र खोजी भएको शिवगढी रुपन्देहीको बुटवलमा रहेको जितगढीभन्दा पनि महत्वपूर्ण मानिन्छ । तपाई पनि शिवगढीमा गएर यस वर्षको नयाँ वर्ष मनाउन सक्नुहुन्छ । यसैगरी चर्चित स्थान धानखोपनि प्रमुख गन्तब्य हो ।

सोनवागढ मन्दिर
कपिलवस्तुको शिवराज नगरपालिका–३ भितिरियाको सोनवागढ मन्दिर पनि जिल्लाको प्रमुख धार्मिक गन्तब्य मध्ये एक हो । उक्त मन्दिरमा रहेको ढुङ्गा उठाउन सके भविष्य चम्किने विश्वास रहि आएको छ । परापुर्व कालदेखि प्रख्यात सोनवागढ मन्दिर भित्र रहेको उक्त ढुंगा जो कोहिले उठाउन सक्दैन ।

हेर्दा सानो देखीने गोलो आकारको ढुंगा त्यहाँ पुग्ने बहुत कमैले उठाउन सक्छन् । दुरदराजबाट आएका भक्तजनहरु सत्य मनले ढुंगा उठाउन सके आफुले चिताएको सबथोक पूरा हुन्छ । शिवराज नगरपालिका चन्द्रौटा बजार देखि झन्डै ६ किलोमिटर उत्तरतर्फको घना जंगलमा रहेको सो सोनवागढ मन्दिरमा राजाले सुनको खजाना लुकाएर राखेको मान्यताअनुसार मन्दिरको नाम सोनवागढ राखिएको हो । यो मन्दिर धेरैका लागि नौलो हुनसक्छ तपाईपनि यस मन्दिरमा गएर नयाँ वर्षको सुरुवात गर्न सक्नुहुनेछ ।
अन्य प्रशिद्ध धार्मिक तथा सांस्कृतिक स्थलहरु
राम लक्ष्मण ताल
बुद्धभूमि नगरपालिका ३ रनगाईमा अवस्थित राम लक्ष्मण ताल पछिल्लो समय आन्तरिक पर्यटकको गन्तब्य बनेको छ । उक्त तालमा अहिले पिकनिक खानुका साथै तालको अवलोकनका लागि पनि आन्तरिक पर्यटक आउने गर्दछन् ।
बनगाइको खारखानी
बाणगंगा नगरपालिका ७ मा पर्ने खारखानी पछिल्लो समय आन्तरिक पर्यटको मुख्य आकर्षण बनेको छ । खारखानीमा कपिलवस्तुसंगै अन्यजिल्लाबाट पनि पर्यटक आउने गर्दछन् तसर्थ तपाईपनि त्यहाँ गएर नयाँ वर्ष मनाउन सक्नुहुने छ ।
बुड्ढी ताल
बुद्धभूमि नगरपालिका ४ मा अवस्थित बुड्ढी तालपनि तपाईका लागि एक विकल्प बन्न सक्छ । महेन्द्र राजमार्गबाट नजिकै रहेको बुड्ढी तालमा आएर यहाँको मनोरम वातावरण संगै चराचुरुंगी र जीवजन्तुसंग रमाउन सक्नुहुन्छ ।
बरकलपुर पार्क
बुद्धभूमि नगरपालिका ९ ईमिलियमा रहेको वरकलपुर पार्क पनि पिकनिक तथा घुम्नका लागि उत्तम विकल्प हो । ताल नजिकै रहेको यो पार्कमा शान्त वातावरण संगै प्रकृतीको अनुभूती गर्न सक्नुहुने छ ।

प्रकाशित मिति : २७ चैत्र २०८१ बिहिबार ००:००  ११ : २२ बजे