१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

अर्घाखाँचीलाई देवभूमिको रूपमा परिभाषित गर्नुपर्छः प्रधानमन्त्री ओली



अर्घाखाँची ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्घाखाँचीलाई ध्यान, ज्ञान र देवभूमिको रूपमा परिभाषित गर्दै यही भूमि विश्वव्यापी ज्ञानको सुरुवात गर्ने ठाउँ भएको बताउनुभएको छ ।

अर्घाखाँचीमा आयोजित ‘पाणिनी तपोभूमि सम्मेलन’को उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले पाणिनिको जन्मस्थान अर्घाखाँची भएकोमा कुनै शङ्का नरहेको प्रष्ट पार्नुभयो ।

‘‘यो भूमि पावन छ, पुण्य छ, देवभूमि हो । यहाँबाटै ज्ञानको सुरुवात भयो,’’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘विश्वका व्याकरणका पिता पाणिनि यही भूमिमा जन्मनु भएको हो । अरू सबै व्याकरणहरूले पाणिनिको सूत्रलाई आधार मानेका छन् ।’’

प्रधानमन्त्री ओलीले पाणिनिको योगदान असाधारण रहेको उल्लेख गर्नुहुँदै अष्टाध्यायीमार्फत संस्कृत व्याकरणको तीन हजार नौ सय ५९ सूत्र निर्माण गरिएको र ती सूत्रहरू आजको आधुनिक प्रविधि, विशेषगरी कृत्रिम बौद्धिकता ९एआई० विकासमा समेत प्रयोग भरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘पाणिनिको व्याकरणपछि भाषा सरल बन्दै गयो, छन्दको सुरुवातसँगै सङ्गीत र लयको विकास भयो ।’’

उहाँले पाणिनिले मात्र नभई शिव, सिङ्ग ऋषि, पतञ्जली र अन्य महर्षिहरूको तप, साधना, योग, आयुर्वेद र ज्ञान साधनाको केन्द्र भएको यस भूमिलाई समूचित प्रचारप्रसार गरी धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास गर्ने जिम्मा सरकारले लिने स्पष्ट पार्नुभयो । नेपाल सरकारले यस क्षेत्रको विकासका लागि ध्यान दिएको स्पष्ट पार्नुभयो । धार्मिक र पर्यटकीय स्थलको रूपमा विकास गर्न जोड दिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले पाणिनिको जन्म पाकिस्तानमा भएको भन्ने भ्रम मात्रै भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘ऋषिहरू ध्यान र तपस्याका लागि उपयुक्त भूमि खोज्थे, व्याकरण बनाउन सजिलो ठाउँ हेरेर गएका होइनन् । शिवका डमरुको ध्वनि सुनेर व्याकरण सृजना गर्ने पाणिनिको साधना यहीँ भएको हो ।’’

प्रकाशित मिति : २६ चैत्र २०८१ बुधबार ००:००  ९ : ०६ बजे