बैरिया ।
कपिलवस्तुको वाणगंगा १ बैरियामा अवस्थित श्री बाल मा.वि.ले बार्षिक नतिजा प्रकाशन, अभिभावक भेला तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । स्कुल प्रांगणमा आज आयोजित कार्यक्रममा कक्षागत तथा विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।
विद्यालयको नतिजा प्रकाशन समारोहका प्रमुख अतिथी वाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले विद्यालयहरुले शैक्षिक प्रतिस्पर्धामा आफुलाई अब्बल सावित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले शैक्षिक उन्नयनका लागि विद्यालयहरुले सकृयताका साथ जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले सके देशमै नसके नगर भित्र प्रतिस्पर्धामा नायकत्व प्रदान गर्न विद्यालयलाई आग्रह गर्नुभयो । विद्यालयले पञ्चकोणिय सम्बन्ध स्थापित गर्दै शिक्षक, शिक्षकजस्तो, विद्यार्थी विद्यार्थीजस्तो, अभिभावक अभिभावकजस्तो भएर काम गर्नुपर्ने बताउदै स्थानीय सरकारसंग समन्वय गरी शैक्षिक सुधारमा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नगरका शिक्षा शाखा प्रमुख खिम बहादुर जिसी, वडा सदस्य टोपकला विसी, समाजसेवी नित्यानन्द ज्ञवाली, अक्षयकोष दाता धातानन्द भुसाल, अभिभावक गिता अर्याल, कृष्ण बेल्वासे विद्यार्थी अनन्या पाण्डे लगाएतले विद्यालयको शैक्षिक विकासका लाागि सल्लाह सुझाव दिएका थिए।
कार्यक्रममा विद्यालयका प्रद्यानाध्यापक टिकाराम पौडेलले आयव्यय सहितको विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको अक्षय कोषबाट १४ जना जेहेन्दार तथा विपन्न विद्यार्थीलाई २१ हजार बराबरको छात्रबृत्ति प्रदान गरिएको जानकारी दिनुभयो ।
नतिजा प्रकाशन कार्यक्रम १ का वडा अध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जु कुमार सारुको अध्यक्षता, शिक्षक कृष्ण प्रसाद भट्टराई र सहायक प्रअ ओम प्रकाश घिमिरेको सहजीकरणमा सम्पन्न भएको थियो । विद्यालयमा कार्यरत शिक्षक तथा अतिथीलाई मायाको चिनो प्रदान गरिएको थियो । सोही अवसरमा विद्यार्थीले विभिन्न भेषभुषामा नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया