बुटवल ।
लुम्बिनी प्रदेश सरकारले वनमा डढेलो लगाउने व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउन निर्देशन जारी गरेको छ ।
पछिल्लो समय लुम्बिनी प्रदेशमा वनमा आगलागीका घटनाहरू वृद्धि भएका छन् ।
लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय मार्फत परिपत्र गरिएको मुख्यमन्त्री चेतनारायण आचार्यका प्रेस सल्लाहकार दशरथ घिमिरेले बताए ।
यस वर्ष चैत १ गतेदेखि २५ गते सम्म १२ वटा जिल्लामा आगलागीका १२९ वटा घटना घटेका छन् । यो अवधिमा आगलागीमा परेर १ जनाको मृत्यु भएको र १३ जना घाइते भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
वन डढेलो तथा आगलागीको घटना नियन्त्रण र सम्भावित क्षति न्यूनीकरणका लागि भरपर्दो पूर्व तयारी गर्न अनुरोध पनि गरिएको छ। वन ऐन, २०७६ अनुसार राष्ट्रिय वनमा आगजनी गरेमा त्यसबाट भएको सम्पूर्ण क्षतिको बिगो असुल गर्नुका साथै ३ वर्षसम्म कैद वा ६० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया