बाबुराम रायमाझी, जितपुर ।
स्वर्णिम इतिहासको सम्मान र उज्ज्वल भविष्यको संकल्प भन्ने मुल नाराका साथ शुद्धोदन मावि ले ५०औं बर्ष पुरा भएको अवसरमा वार्षिकोत्सव कार्यक्रमको तयारी गरेको छ। यो विशेष अवसरमा शैक्षिक संस्थाले आयोजना गर्न लागेको स्वर्ण महोत्सवको उद्घाटन नेपाल सरकारका भूमि व्यवस्था, सहकारी र गरीबी निवारण मन्त्री बलाराम अधिकारीले गर्नु हुने भएको छ ।
कार्यक्रमको एक प्रमुख आकर्षण भनेको दीपक कुवरका पिता एबम भलवाडमा शिक्षाको ज्योति फैलाउन सफल स्वर्गीय नन्द बहादुर कुवरको स्मृतिमा निर्मित स्वर्ण महोत्सव स्तम्भको अनावरण पनि हुनेछ। यस समारोहमा मन्त्री अधिकारी स्वयं उपस्थित भएर यस स्तम्भको अनावरण गर्नुका साथै विद्यालयको विशेष स्मारिकाको विमोचन पनि गर्नु हुनेछ ।
विद्यालयका प्रमुख कार्यहरूको सूचीमा रचनात्मकता र समर्पणको उच्च स्थान राख्दै रक्तदान कार्यक्रम, वडा स्तरीय हाजिर जबाफ प्रतियोगिता, नगर स्तरीय बक्तृत्वकला प्रतियोगिता जस्ता विविध गतिविधिहरू आयोजना गरिनेछन । यसैगरी, विद्यालयका जग्गादाता, पूर्व विद्यालय व्यवस्थापन समिति, शिक्षक र कर्मचारीहरूको सम्मान गर्ने कार्यक्रम रहेकोे छ ।
स्वर्ण महोत्सव आयोजन समितिकी सदस्य सचिव अनिता कडेलले यस अवसरमा राष्ट्रिय कलाकारहरूको विशेष प्रस्तुति पनि हुने जानकारी दिनु भएको छ। महोत्सव तीन दिनसम्म, अर्थात् चैत २७, २८ र २९ गतेसम्म हुनेछ। २९ गते महोत्सव समापन हुने कार्यकमको जानकारी वडा नं. ९ का वडा अध्यक्ष कमल पौडेलले दिनु भएको छ ।
यस महोत्सवले विद्यालयको शैक्षिक गौरव र समाजको समर्पणको प्रतीकका रूपमा विशेष स्थान बनाउने विश्वास गरिएको छ।
प्रतिक्रिया