बाबुराम रायमाझी, जितपुर ।
वाणगंगा ९ स्थित कोटिहवा सामुदायिक बनले समुहको १३ औं वार्षिक साधारणसभाबाट पारित वार्षिक कार्यक्रमअनुसार गरिब र विपन्न परिवारहरूलाई ५० प्रतिशत अनुदानमा १ सय १० थान विद्युतिय चुलो वितरण गरेको छ। उक्त वितरण कार्यक्रम समुहका अध्यक्ष ध्रुव बेल्बासे र प्रमुख अतिथी तथा वडा अध्यक्ष कमल पौडेलको उपस्थितिमा सम्पन्न भएको हो।
कार्यक्रममा वडा अध्यक्ष कमल पौडेलले विद्युतिय चुलो वितरणको महत्व बारे बोल्दै यसलाई वातावरणमैत्री र समृद्धिको दिशामा एक उत्कृष्ट कदमको बारेमा बताए । उनले भने, ‘‘कोटिहवा सामुदायिक बनले विद्युतिय चुलो वितरण गरेर वन संरक्षणमा ठूलो योगदान पुर्याउँदै एक उदाहरणीय काम गरेको छ। यसले समुदायमा पर्यावरणको संरक्षणको महत्व बुझाउन मद्दत पुर्याउनेछ।’’
त्यस्तै, बेश संस्था दाङका बजार विकास अधिकृत खेमराज मरासिनीले विद्युतिय चुलोको उपयोग र यसको दीर्घकालीन फाइदाबारे प्रकाश पारे। उनले भने, ‘‘विद्युतिय चुलोले काठको प्रयोग घटाएर वन क्षेत्रको संरक्षणमा मद्दत पुर्याउँछ। यो कार्यक्रम नेदरल्यान्ड सरकारको सहयोग र एस एन भी तथा बेश संस्था दाङसँगको साझेदारीमा सम्पन्न भएको हो।’’
कार्यक्रमका प्रमुख सन्चालक र कोटिहवा सामुदायिक बनका अध्यक्ष ध्रुव बेल्बासेले कार्यक्रमको सफलताका लागि आभार व्यक्त गर्दै यस प्रकारका कार्यक्रमले समुदायमा वातावरणीय सचेतना र विकासका नयाँ आयाम खोल्ने विश्वास व्यक्त गरे।
यस कार्यक्रमको सन्दर्भमा कोटिहवा सामुदायिक बनका सदस्यहरू भने अत्यन्त खुशी थिए, किनभने यसले उनीहरूलाई बजारको मूल्यभन्दा कम मूल्यमा विद्युतिय चुलो प्रयोग गर्न सुविधा दिएको छ। समुहका सचिव प्रेम बेल्बासेले भने, ‘‘समुदायका सदस्यहरूलाई यस सुविधाले अत्यधिक राहत दिएको छ र यसले काठको प्रयोग घटाउँछ जसले वन क्षेत्रको संरक्षणमा सहयोग पुर्याउँछ।’’
यस कार्यक्रममा उपभोक्ता समूहका १ सय १० जना सदस्यहरूले अनुदानमा विद्युतिय चुलो प्राप्त गरेका छन्, जुन कार्यक्रमको प्रमुख उद्देश्य वातावरणको संरक्षण र स्थानीय परिवारहरूको जीवनस्तरमा सुधार ल्याउनु रहेको छ।
यस प्रकारका समुदाय-आधारित परियोजनाहरूले पर्यावरण र समुदायको सन्तुलन कायम राख्न मद्दत पुर्याउँछन् र दीर्घकालिक फाइदाको दृष्टिकोणले समाजमा ठूलो प्रभाव पार्छन्।
प्रतिक्रिया