१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025

बाणगंगका मेयर अर्यालले भने- राज्यको अब्यवहारिक प्रकृयाले समस्या भयो



दीपा महत, जितपुर ।

वाणगंगा नगरपालिकाका नगरप्रमुख चक्र पाणी अर्यालले राज्यको अब्यवहारिक नीति तथा प्रकृयाका कारण धेरै काम गर्न समस्या भएको बताएका छन् । अर्यालले अधिकारको बाडफाँणका कारणपनि कतिपय काम आफुले चाहेर पनि गर्न नसकेको बताएका हुन् ।

नेपाल पत्रकार महासंघ कपिलवस्तुको आयोजना तथा बाणगंगा नगरपालिकाको समन्वयमा सोमबार जनचेतना आधारभूत विद्यालयमा भएको दोस्रो चौमासिक सार्वजनिक सुनुवाईमा बोल्दै प्रमुख अर्यालले यस्तो बताएका हुन् ।

कार्यक्रममा सहभागि स्थानीय मान बहादुर कार्की र गंगा बहादुर कार्कीले कजवे निर्माणमा नगरपालिकाले चासो नदिएको र कालेपत्रे भएका सडक पनि नबन्दै भत्कने अवस्थामा पुगेको भन्दै नगर प्रमुखको ध्यानआकृष्ट गराएका थिए ।

जवाफमा नगर प्रमुख अर्यालले नगरपालिकाका हरेक समस्या संग आफु चिरपरिचित भएको बताए । यहाँको समस्या हामीलाई थाहा छ कतिपय काम कानुनका कारणपनि अगाडी बढाउन सकेका छैनौ । अर्यालले भने, ‘‘कजवे निर्माणका लागि नगरको बजेटले भ्याउदैन, हामीले प्रदेश सरकारसंग पनि यस विषयमा कुरा गरेका थियौ उहाहरुले पनि प्रदेशको बजेटले नभ्याउने भन्दै संघमै जानुपर्ने बताउनुभयो नगरसंग कवजे निर्माणका लागि एक करोड मात्र बजेट छ त्यो सम्पन्न गर्न २० करोड लाग्ने अनुमान छ त्यस कारणपनि समस्या भएको हो तर हामीले संघिय सरकारलाई पत्रचार गरेका छौ यो समस्या चाडै समाधान हुन्छ, सायद यो वर्ष टेन्डर आहवान हुन्छ होला ।’’

प्रमुख अर्यालले नगरका सार्वजनिक सम्पती, मठमन्दीरको संरक्षण गर्नु नगरको दायित्व भएको बताए । नगरपालिकामा धेरै योजनाहरु आउने हुँदा आफुहरुले आवश्यक्ताको आधारमा योजना छनोट गर्ने गरेको भन्दै समस्याहरु राख्दा मौखिक भन्दा पनि लिखित रुपमा आएमा सहज हुने बताए । अहिले कालेपत्रे हुन लागेका धेरै सडकहरु नबन्दै भत्किने अवस्थामा पुगेको भन्दै अर्यालले प्रिमिक्स विधिका सडकहरु चाडै भत्कने बताए । त्यस्ता सडकहरुको आयु ३ वर्ष हुने भन्दै त्यसलाई पुनः मर्मत गर्नुपर्ने बताए ।
कार्यक्रममा फुलबारी सामुदायिक वनका अध्यक्ष शेषकान्त बेल्वासेले कपिललधामको काम वडाबाट सहजै सिफारिस भएपनि नगरपालिकाबाट समयमै काम हुननसकेको भन्दै असन्तुष्टी जनाए । साथै नागरिक प्रतिवेदन तयार पार्दा सबैलाई समेटन सुझाव दिए ।
यसैगरी जनज्योती माविका प्रधानध्यापक नारायण प्रसाद घिमिरेले नेपाल सरकारले कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई दिवा खाजा स्वरुप दिने १५ रुपैयामा नगरले १० – १५ रुपैया थपिदिएमा सहज हुने बताए । कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम वाणगंग बनेपनि समयमै उपलब्ध नहुने गरेको भन्दै पुस्तक समयमै उपलब्ध गराउन ध्यानआकृष्ट गराए ।

सहभागीको प्रश्नको सम्बोधन गर्दै प्रमुख प्रशासकिय अधिकृत भक्तीराम मरासिनीले अधिकार विभाजनका कारण धेरै समस्या भएको भन्दै स्थानीय ऐनलाई संबोधन गर्दै अगाडी बढ्ने बताए ।

कज्वेपुल निर्माणको काम संघीय सरकारको भएकाले नगरपालिकालाई यसको काम गरिहाल्न पनि समस्याभएको प्रष्ट पारे । नगरपालिकाले स्थानीय पाठ्यक्रम समयमै उपलब्ध गराउने बताए ।

यस्तै कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले नगरबासीबाट आएका सुझावलाई लिदै अबका कार्यक्रम नगरपालिकामै गर्ने बताए । कतिपय ठाँउमा ठेकेदारको चरम लापरवाहीले पनि बाटो तथा पुल भत्किने गरेको भन्दै नगरबासीले पनि यस्ता विषयमा सरोकार राख्नुपर्ने बताए । साथै बाणगंगा नगरपालिका अन्यपालिका भन्दा उत्कृष्ट भएको भन्दै सेवा प्रकृयालाई अझ प्रभावकारी बनाउनुपर्ने बताए ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख लोकेन्द्र जिसीले कार्यालयबाट भएका कार्यसम्पादनका बारेमा जानकारी गराएका थिए ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुका सहसचिव पिताम्बर घिमिरेको संचालनमा सम्पन्न उक्त कार्यक्रममा उपप्रमुख रिता कुमारी चौधरी, ११ वटै वडाका वडाध्यक्षसहितका जनप्रतिनिधि, शाखा प्रमुखसहितका कर्मचारी, सरोकारवाला निकाय, संचारकर्मी र नगरवासीको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुका उपाध्यक्ष दीपा महतले नागरिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन भने कार्यसमिति सदस्य बाबुराम रायमाझीले बहिर्र्गमन अभिमत प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २४ चैत्र २०८१ सोमबार ००:००  ६ : ५९ बजे