२५ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025

मथुरालाई पवित्र तीर्थस्थलका रूपमा विकास गरिने



अर्घाखाँची ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सन्धिखर्कस्थित मथुरालाई देशकै पवित्र धार्मिक तीर्थस्थलका रूपमा विकास गरिने बताउनुभएको छ । मथुरा बाङ्लाको गोपेश्वर पीठ र राधाकृष्ण मन्दिरमा सञ्चालन भएको श्रीमद् देवीभागवत एवं शतचण्डी महायज्ञ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले मथुरालाई धार्मिक महत्वको स्थलका रूपमा विकास गरिने बताउनुभएको हो ।

सो क्षेत्रको विकासका लागि चालु आर्थिक वर्षमा पनि सडकको स्तरोन्नति गर्न बजेट विनियोजन भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यो स्थललाई अर्घाखाँची वा लुम्बिनी प्रदेशको मात्रै नभई देशकै धार्मिक तथा पर्यटकीय स्थलका रूपमा विकास गर्न जरुरी छ ।” जङ्गबहादुर जन्मिएको भनेर चिनिने ऐतिहासिक पौवाको समेत संरक्षण गर्ने काम सरकारले गरेको उहाँले जानकारी गराउनुभयो । भविष्यमा बृहत्तर गुरुयोजना निर्माण गरेर मथुराको समुचित विकास गरिने योजना रहेको उहाँले उल्लेख गर्नुभयो । भक्तजनको चाहना अनुसार प्रदेश सरकारले धार्मिक स्थलको विकासलाई प्राथमिकता दिने बताउँदै उहाँले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनसमेत सरकारले विशेष ध्यान दिने स्पष्ट पार्नुभयो ।

यसैबिच पार्टीका सन्धिखर्क नगर अध्यक्ष कुशल भुसालका पिता विष्णुप्रसाद भुसालको श्रद्धाञ्जली सभामा बोल्दै मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँचीको सिङ्गो कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्‍याउन तथा समाज रूपान्तरणको अभियानलाई व्यापक बनाउन दिवङ्गत विष्णुप्रसाद भुसालले खेल्नुभएको भूमिकाको उच्च मूल्याङ्कन गर्नुभयो । जीवनको ऊर्जाशील उमेर राजनीतिक जागरणमा खर्चिएको स्मरण गर्दै मुख्यमन्त्री आचार्यले उहाँले देखाएको बाटोमा सबै अविचलित भएर लाग्ने र उहाँका सपना पूरा गर्ने सङ्कल्प व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २३ चैत्र २०८१ आइतबार ००:००  २ : २० बजे