२७ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025

अस्वस्थ जीवनशैलीका कारण नसर्ने रोगको जोखिम उच्च



दीपा महत, तौलिहवा ।

नेपालमा अस्वस्थ जीवनशैलीका कारण नसर्ने रोगको जोखिम बढ्न थालेको छ । विश्वव्यापीकरण, सहरीकरण, जनसङ्ख्या वृद्धि तथा जीवनशैलीमा आएको परिवर्तन तथा वातावरणीय प्रदूषणलगायत कारणले नसर्ने रोगको जोखिम बढ्दै गइरहेको हो ।

अस्वस्थ जीवनशैलीका कारण क्यान्सर, मधुमेह, मुटुरोग, दमलगायतका रोग बढ्दो क्रममा छ । सन् २०१७ को तथ्यांक अनुसार ७१ प्रतिशत मानिसको नसर्ने रोगका कारण ज्यान जाने गरेको छ ।

शनिबार स्वास्थ्य कार्यालय कपिलवस्तुको आयोजनामा सङ्क्रामक तथा नसर्ने रोग न्यूनीकरण सम्बन्धी सञ्चारकर्मीसँगको अभिमुखिकरण, सचेतिकरण तथा अन्तरक्रिया कार्यक्रममा सो बारे जानकारी गराइएको हो । कार्यक्रममा सहजीकरण गर्दै स्वास्थ्य कार्यालयका रतनलाल शर्माले नेपालमा पछिल्लो समय जीवनशैलीमा आएको परिर्वतनका कारण नसर्ने रोगीहरु बढ्दै गएको बताए ।

शर्माले रोगहरूको कारण, प्रभाव र न्यूनीकरणका उपायहरूबारे जानकारी गराएका थिए । कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख गौरब ढकालले नेपालमा अबको ३० वर्षमा क्यानसरका विरामी धान्नै नसक्नेगरी बढ्ने बताए । अहिलेका मानिसको खानपीन जीवनशैलीका कारण केहि वर्षमा क्यान्सरको अवस्था भयाबह बन्ने उनको भनाई छ ।

नेपालको सन्दर्भमा नसर्ने रोग लाग्नुको मुख्य कारण पाँचवटा रहेको उनले बताए । अस्वस्थकर खाना खाने, सुर्तीजन्य पदार्थको सेवन गर्ने, वायु प्रदूषण, मादक पदार्थको सेवन गर्ने र शारीरिक निस्क्रियता कारण विषेश गरि नसर्ने रोग लाग्ने बताए ।

नसर्ने रोगका कारण धेरैको ज्यान जाने गरेकाले यसको रोकथाम तथा नियन्त्रण आवश्यक रहेको भन्दै सबैजना स्वास्थ्य प्रति सचेत बन्नुपर्ने बताए ।

स्वस्थ शरिरनै जीवनको धन भएपनि स्वास्थ्यलाई लिएर मानिसले हेलचक्राई गरिरहेको उनको भनाई छ । हरेक नागरिकले स्वास्थ्य परीक्षण गर्नु आवश्यक रहेको भन्दै समयसमयमा स्वास्थ्य परिक्षण गर्न आग्रह गरे ।

यसका साथै ढकालले कपिलवस्तुका १० वटा विद्यालयलाई जंगफुड निषेध घोषणा गर्न लागेको भन्दै यस अभियानलाई निरन्तरता दिने बताए । कपिलवस्तुमा स्वास्थ्य सम्बन्धी समस्या धेरै रहेको भन्दै जिल्लालाई पूर्ण खोपयुक्त, पोषणमैत्री र पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा गरिने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डिलाराम भुसालले सञ्चारकर्मीहरूले रोग प्रतिकार्यसम्बन्धी जनचेतना मूलक सामग्री प्रकाशनमा सक्रिय हुनुपर्ने बताए । साथै उनले नागरिकलाई प्रत्यक्ष सहयोग पुग्ने गतिविधि गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २२ चैत्र २०८१ शनिबार ००:००  ७ : ३३ बजे