२७ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025

कपिलवस्तुमा दुई फरक ठाउँमा आगलागी हुँदा साढे १५ लाखभन्दा बढी क्षति



कपिलवस्तु ।

कपिलवस्तुका दुई फरक ठाउँमा आगलागी हुँदा साढे १५ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।

विजयनगर गाउँपालिका वडा नम्बर ६ चापागाउँ र शुद्धोदन गाउँपालिका वडा नम्बर ४ महादेवको गहुँखेतीमा भएको आगलागीले यस्तो क्षति भएको हो। प्रहरीका अनुसार चापागाउँको गौतमबुद्ध साझेदारी वनबाट आगो सुरु भएको थियो।

हावाहुरीले फैलिएको आगोले स्थानीय कमला कोरी, रामजानकी कोरी, रामप्रसाद कोरी र चिन्नु मुराउको फुसको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ। त्यस्तै, धनीराम कोरी, विजय कोरी, फोटु बढई र घिराउ कोरीको फुसको गोठ पनि जलेर खरानी भएको छ।

आगलागीले डेढ बिघा गहुँबाली पूरै नष्ट गरेको छ। दमकल, सुरक्षाकर्मी र स्थानीयको प्रयासपछि आगो नियन्त्रणमा आएको छ। चापागाउँको आगलागीबाट १२ लाख ६ हजारभन्दा बढीको धनमाल नष्ट भएको प्रहरीको भनाइ छ।

यस्तै, शुद्धोदन गाउँपालिका वडा नम्बर ५ देवपुरको ४ बिघा गहुँखेतीमा भएको आगलागीले ३ लाख ६० हजारको क्षति भएको छ। सोही पालिकाको वडा नम्बर ४ महादेवमा तिलकराम यादव र जगराम कहारको ४ बिघा गहुँखेतीमा आगो लाग्दा २२ कृषकको ९० क्विन्टलभन्दा बढी गहुँ जलेर नष्ट भएको छ। आगलागीको कारण अझै खुलेको छैन।

कपिलवस्तु नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयको प्रयासपछि डेढ घन्टामा आगो नियन्त्रणमा आएको छ। यसअघि ३ दिन पहिले सोही पालिकाको वडा नम्बर ३ ठूलो सिहयिनामा गहुँखेतमा आगलागी हुँदा २ सय क्विन्टल गहुँ जलेर ८ लाख २५ हजारको क्षति भएको थियो।

त्यस्तै, मायादेवी गाउँपालिका वडा नम्बर १ मेम्रौटीमा कम्बाइनले गहुँ काटेपछि खेतमा रहेको ठुटामा पनि आगो लागेको छ। दमकलले त्यहाँको आगो नियन्त्रणमा लिइसकेको छ।

प्रकाशित मिति : २२ चैत्र २०८१ शनिबार ००:००  ८ : ३३ बजे