२७ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025

हावाले प्रदूषण केही घटायो, जोखिम कायमै



काठमाण्डौ ।

काठमाण्डौ उपत्यकामा वायु प्रदूषण केही कम भएको छ । अघिल्ला दिनहरुको तुलनामा हिजो दिउँसो र राति पनि हावा केही बढी चलेकाले प्रदूषण कम भएको हो ।

प्रदूषण केही घटे पनि हावाको गुणस्तर मापन गर्ने एक्यू एअर इन्डेक्सअनुसार काठमाण्डौ विश्वको सबैभन्दा प्रदूषित शहरको सूचीमा कायमै छ ।

आज बिहान काठमाण्डौको एक्यूआई दुई सयभन्दा केही कम छ । एक्यूआई ५० सम्म स्वस्थकर, १०१ देखि १५० सम्म सामान्य जोखिम, १५१ देखि २०० सम्म अस्वस्थकर, २०१ देखि ३०० सम्म निकै अस्वस्थकर र ३०१ भन्दा माथि भए खतरनाक तहमा पुगेको मानिन्छ ।

वर्षा या ठूलो हावा चल्यो भने मात्रै प्रदूषण पूर्ण रुपमा हट्न सक्छ । तर तत्काल पानी पर्ने र ठूलो हावा चल्ने प्रणालीको विकास नभएको मौसमविदले बताएका छन् ।

अर्को हप्ताको अन्तिमतिर देशका धेरै ठाउँमा छिटपुट वर्षाको सम्भावना देखिएकाले यसले प्रदूषण केही घटाउने मौसमविद प्रतिभा मानन्धरले बताउनुभयो ।

काठमाण्डौ उपत्यकासहित देशका शहरी क्षेत्रमा हरेक वर्ष हिउँद शुरू भएपछि वर्षा नलागुन्जेल हावा प्रदूषित हुने गरेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८१ शनिबार ००:००  ८ : १६ बजे