२७ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025

जङ्गलमा आगो लगाउने थप एक पक्राउ



फिदिम ।

पाँचथर प्रहरीले लापरबाहीपूर्वक जङ्गलमा आगो लगाएको अभियोगमा थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथरको फिदिम नगरपालिका १३ का नन्द केशर नेम्वाङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

नेम्वाङले बिहिबार आफ्ना बारीका सिटा झारपात डढाउन सल्काएको आगो अनियन्त्रित भएर स्थानीय जौबारी सामुदायिक वनमा फैलिँदा जलेकी फिदिम १३ की उषाकला राईको ज्यान गएको थियो ।

नेम्वाङलाई शुक्रबार पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी बिनालाल साहले बताउनुभयो । योसँगै जथाभावी आगो सल्काउने कार्यमा संलग्न भएको अभियोगमा पक्राउ परेकाको सङ्ख्या ४ पुगेको छ ।

पाँचथर प्रहरीले यसअघि फिदिम नगरपालिका १० बाट २ र ४ बाट १ गरी तीन जनालाई पक्राउ गरी अपराधिक उपद्रव मुद्वा दर्ता गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

पक्राउ पर्नेमा फिदिम नगरपालिका ४ की सुकमाया तामाङ, फिदिम १० की सजिता खजुम र दिलु खजुम छन् । उनीहरुमध्ये सुकमाया तामाङले चैत १९ गते आफ्नै बारीमा झिक्रा डढाउन बालेको आगो स्थानीय सिंहदेवी सामुदायिक वनमा सकिँल्दा नियन्त्रणमा लिन हम्मे हम्मे परेको थियो । उता सुजिता र दिलुले पनि चैत १९ गते दिउसो आफ्नो बारीको पात पतिङ्गर डढाउने क्रममा बालेको आगो सल्किएर खलङ्गाटार माविको वन क्षेत्रमा प्रवेश गर्दा नियन्त्रणका लागि प्रहरी र स्थानीयले अत्याधिक मिहिनेत गर्नुपरेको थियो।

अनुसन्धानका क्रममा उनीहरूले आगो सल्काएको खुलेपछि पक्राउ गरी अपराधिक उपद्रव शीर्षकमा मुद्वा दर्ता गरी पाँचथर जिल्ला अदालतबाट ५–५ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय पॉचथरका सूचना अधिकारी (प्रहरी निरीक्षक) बिनालाल साह (तेली) ले जानकारी दिनुभयो ।

पछिल्लो समय जिल्लाका विभिन्न वन जङ्गलमा आगो सल्काउने क्रम बढेको छ । जिल्लामा डढेलोमा पर्दा चैत २२ गते कुम्मायक ३ की प्रतिमा लावती र फिदिम १३ की उषाकला नेम्वाङको मृत्यु हुनका साथै ४ जना घाइते छन् ।

प्रकाशित मिति : २१ चैत्र २०८१ शुक्रबार ००:००  ५ : २७ बजे