मुस्ताङ ।
चालु आर्थिक वर्षको नौ महिनामा करिब तीन लाख ९७ पर्यटक मुस्ताङ पुगेका छन्। गत साउनदेखि चैत १८ गतेसम्म मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटक गरी तीन लाख ९६ हजार ९०१ पर्यटक भित्रिएको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ।
मुस्ताङमा चालु वर्षको साउनदेखि हालसम्ममा तीन लाख ३३ हजार ८४५ नेपाली आन्तरिक पर्यटक र ६३ हजार ५६ विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार साउनदेखि हालसम्ममा दुई लाख ३८ हजार ३५४ पुरुष र ९५ हजार ४९१ महिला आन्तरिक नेपाली पर्यटक यहाँ पुगेका हुन्। यसैगरी ३५ हजार ६१८ पुरुष र २७ हजार ४३८ महिला विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका हुन्।
मुस्ताङ भित्रिने पर्यटक सङ्ख्यामध्ये ८० प्रतिशत भारतीय र २० प्रतिशत अन्य मुलुकका पर्यटक छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार आव २०८०/८१ मा नेपाली आन्तरिक तथा बाह्य पर्यटक गरी चार लाख ५४ हजार ३२६ जनाले मुस्ताङ भ्रमण गरेका थिए। जसमध्ये आन्तरिक तीन लाख ५४ हजार ९२७ र ९९ हजार ३९९ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको प्रहरीको तथ्यांक छ।
पछिल्लो समय सडक सञ्जाल क्रमिक रूपमा सुधार हुँदै जान थालेपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि भइरहेको छ। जिल्लाको पवित्र धार्मिक तीर्थस्थल मुक्तिनाथधाम र कागबेनी श्राद्धस्थलमा तीर्थ गर्न श्रद्धालु पुग्ने गरेका छन्। मुस्ताङ भित्रिएका नेपाली पर्यटक मुक्तिनाथ दर्शन गरी उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँगै सिमाना जोडिएको कोरला नाकासम्म पुग्ने गरेका छन्।
मुस्ताङ धार्मिक तथा साँस्कृतिक विविधतापूर्ण जिल्ला भएको र यहाँको पृथक प्रकारको भूगालको आकर्षणले पर्यटक बढेका हुन्। राष्ट्रिय गौरवको कोरला सडक सहज हुँदै गएपछि कोरलानाकासम्म आन्तरिक पर्यटक पुग्ने गरेको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरूङले बताए।
मुस्ताङमा अवस्थित सदियौँ पुराना गुम्बा, माने, छोर्तेन, मठमन्दिर र यहाँका ऐतिहासिक तथा पुरातात्विक सम्पदा र गुफाका कारण जिल्ला पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण गन्तव्य बन्दै गइरहेको छ। उपल्लो मुस्ताङमा ७०० वर्ष पुरानो मुस्ताङी सांस्कृतिक राजाको दरबारका साथै गुरु पद्मसम्भवसँग जोडिएका दर्जनौँ धार्मिक गुम्बा पर्यटकका लागि विभिन्न खोज र अनुसन्धानको केन्द्र बनेको छ।
मुस्ताङको धार्मिक तथा सांस्कृतिक सम्पदा, यहाँको रहनसहन जीवनशैली र स्थानीय चाडपर्वको मौलिकता अवलोकन गर्न पर्यटकयहाँ आउने गरेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले बताए।
प्रतिक्रिया