ढोरपाटन ।
नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा लोपोन्मुख रातो हाब्रे (रेड पाण्डा)को संरक्षणमा चुनौती बढेको छ। रेडपाण्डाको बासस्थान नासिँदै गएपछि संरक्षणमा चुनौती बढेको हो।
रेडपाण्डा निगालोको झाडीमा बस्ने र त्यसको टुसा खाएर बाँच्छ। तर पछिल्लो समय निकालोको झाडी फडानी र डढेलोका कारण मासिँदा रेड पाण्डा सङ्कटमा पर्ने जोखिम बढेकोमा सरोकारवालाको चासो देखिएको छ।
ढोरपाटन सिकार आरक्षका रेन्जर सागर सुवेदीका अनुसार मुलुकभरमा सबैभन्दा बढी रेड पाण्डा ढोरपाटनमा छन्। अहिलेसम्म एकीन गणना नभए पनि शिकार आरक्षभित्र करिब ३०० को हाराहारीमा रेडपाण्डा रहेको उनले बताए। २०७४ सालमा सिकार आरक्षले गरेको सर्वेक्षणमा रेड पाण्डाको सङ्ख्या निकै कम भएकामा अहिले झण्डै २०० देखि ३०० रहेको अनुमान रहेको सुवेदीले बताए।
रेड पाण्डा गणनाका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा माग गरेको उनले जानकारी दिए। ढोरपाटन शिकार आरक्षको फागुने, सुर्तिबाङ, सुनदह, बार्से, भुस्तुङ, दोगाडी र सेङ ब्लकमा रेडपाण्डा भेटिएको उनले बताए। पहिलेको तुलनामा अहिले रेड पाण्डा बढी मात्रामा देखिने गरेको सुवेदीको भनाइ छ।
‘२०७२ सालसम्म ढोरपाटनमा रेड पाण्डा छिटपुट रूपमा थिए, २०७४ सालमा सर्भे गर्दा सबै ब्लकमा रेड पाण्डा भेटिए, अहिले धेरै ठाउँमा बाक्लो रूपमा भेटिन्छन्’, उनले भने, ‘अहिले करिब ३०० को हाराहारीमा रेडपाण्डा ढोरपाटनमा रहेको हाम्रो आकलन छ, जुन सङ्ख्या मुलुकभरका राष्ट्रिय निकुञ्जमा भएको भन्दा बढी हो।’
शिकार आरक्ष क्षेत्रबाहेक बागलुङका माथिल्लो वनक्षेत्रमा पनि रेड पाण्डा पाइने डिभिजन वन कार्यालयका प्रमुख सरोज पन्थीले बताए। बढ्दो डढेलो, जङ्गल फडानी र जनघनत्वका कारण यसको संरक्षणमा चुनौती बढेको उनको भनाइ छ। रेड पाण्डा संरक्षणका लागि स्थानीयलाई सचेत बनाउनुपर्ने पन्थीले बताए। रेड पाण्डाले खाने निगालोको टुसासमेत संरक्षण गर्न आवश्यक रहेको उनको भनाइ छ।
खासगरी कर्णालीभन्दा पूर्वी क्षेत्रको उच्च पहाडी र हिमाली क्षेत्रमा रेड पाण्डा पाइन्छ। अहिले मुलुकका २३ हिमाली तथा पहाडी जिल्लामा मात्रै रेड पाण्डा पाइन्छ। रासस
प्रतिक्रिया