२३ चैत्र २०८१, आइतबार | Sun Apr 6 2025

प्रधानमन्त्री ओली र थाइल्याण्डका समकक्षी शिनावात्राबीच भेटवार्ता



काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ्थान् शिनावात्राबीच आज भेटवार्ता भएको छ ।

भेटवार्तामा प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी हुनुभएको छ ।

त्यसअघि थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीलाई थाइल्याण्डको सरकारी भवनमा उहाँका समकक्षी शिनावात्राले स्वागत गर्नुभएको थियो ।

परराष्ट्र मन्त्रालयका अनुसार आज संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । यसैगरी दुई देशबीचका गैरसरकारी र व्यावसायिक संस्थाबीच ६ वटा सहमतिपत्र आदाप्रदान हुनेछ । सम्झौतापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ ।

त्यसपछि प्रधानमन्त्री ओली आफ्नो सम्मानमा समकक्षी शिनावात्राले आयोजना गर्नुभएको दिवाभोजमा सहभागी हुनुहुनेछ । प्रधानमन्त्री ओलीले आजै थाई नरेश महा बजिरालोङकर्नसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । रासस

प्रकाशित मिति : १९ चैत्र २०८१ बुधबार ००:००  १२ : ५१ बजे