सरिता थारु, कपिलवस्तु ।
३३औं विश्व खानेपानी दिवस कपिलबस्तुमा पनि भव्य रूपमा मनाइएको छ । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल बाणगंगा नगर शाखाको आयोजनामा “हिमनदी संरक्षणः सुरक्षित खानेपानी, स्वस्थ जीवन“ विषयक अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाइएको हो ।
कार्यक्रममा बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले प्रमुख अतिथीको आसनबाट बोल्दै जल स्रोतको संरक्षण गर्दै स्वच्छ खानेपानीको सुनिश्चितताका लागि सरकार र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाले नगर भित्र २३ वटा खानेपानी आयोजना रहेको बताउदै १८ वटा डिप बोरिङहरु संचालनमा रहेको बताउनुभयो । साथै उहाले २ वटा लिफ्टीङ बोरिङ, एक वटा स्यालो ट्युबेल र एक वटा ग्राविटि प्रणाीको खानेपानी आयोजना रहेको बतउनुभयो । नगर प्रमुख अर्यालले बाणगंगा नगरपालिकामा पानीको स्रोतको अभाव नरहेको बताउदै नगर भित्र भएको आयोजनाहरुलाई व्यवस्थित गर्दै जानुपर्नेमा जोड दिनुभयो । उहाले नया आयोजना थप गर्नु भन्दा पनि भएका खानेपानी आयोजनालाई व्यवस्थित गर्नुपर्ने औल्याउनुभयो ।
यस्तै उहाले आयोजना पिच्छे खानेपानी महशुल शुल्क र जडान शुल्कमा एक रुपता नहुदा उपभोक्ताहरुमा खानेपानी अयोजना प्रति नकरात्मक भ्रम र्सिजना भएको बताउदै शुल्कलाई एकरुपता बनाउनुपर्ने औल्याउनुभयो ।
यस्तै नगरका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले खानेपानी सरसफाईको बर्तमान अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गर्दै उहाले सरसफाई तथा खानेपानीको व्यवस्थापनलाई व्यवस्थित बनाउन स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो । खानेपानी आयोजनाका आर्थिक पारदर्शिता, वितरण प्रणाली, सरसफाई लगाएत विविध पक्षको अनुगमन नगरपालिकाको अधिकार क्षेत्रभित्र पर्ने बताउदै आवश्यक साथ सहयोग र सहकार्य गर्दै अगाडी बढ्ने बताउनुभयो ।
यसैगरी खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कपिलबस्तुका प्रमुख दिनेश प्रसाद शाहले वातावरणमैत्री नीति अपनाई जल स्रोतको दीर्घकालीन उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका केन्द्रीय सदस्य तथा बाणगंगा खानेपानी तथा सरसफाई उपभोक्ता समूहका अध्यक्ष विश्व कार्कीले जलवायु परिवर्तनले खानेपानी स्रोतमा असर पुर्याइरहेकाले यसतर्फ ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।
जिल्ला खानेपानी तथा सरसफाई महासंघका अध्यक्ष राजेन्द्र विक्रम शाहले पानीको दुरुपयोग रोक्न सचेतना अभियानलाई प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो ।
बाणगंगा नगरपालिकाका नगर प्रवक्ता एवं वडा न.२ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले जल स्रोतको दिगो उपयोग, सुरक्षित खानेपानीको महत्व र सरसफाईका विषयमा आफ्नो विचार राख्दै जनस्तरबाटै पहल हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमको अध्यक्षता खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल बाणगंगा नगर समितिका कार्यवाहक अध्यक्ष सन्जु सेनले गर्नुभएको थियो भने संचालन महासंघका सचिव खडानन्द गौतमले गर्नुभएको थियो । कार्यक्रमको स्वागत मन्तव्य महासंघकी लेखा संयोजक अनिमा खरेलले दिनुभएको थियो । कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरु, स्थानीय उपभोक्ता, सरोकारवाला निकायका प्रतिनिधि तथा विभिन्न संघसंस्थाका पदाधिकारीहरू, पत्रकार, सुरक्षाकर्मी लगाएतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया