२७ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025

नेपालमा भयाबह बन्दै मानसिक स्वास्थ्य समस्या



दीपा महत, तौलिहवा ।

नेपालमा मानसिक स्वास्थ्य समस्या भयाबह बन्दै गएको एक अध्ययनले देखाएको छ । अहिले विभिन्न ब्यक्तीमा देखिने विभिन्न प्रकारका मानसिक समस्याले ब्यक्तीले देहत्याग सम्म गर्ने गरेका छन् । देशभर अहिले आत्महत्या गर्ने मध्ये ९५ प्रतिशतमा मानसिक स्वास्थ्य समस्या रहने गरेको अध्ययनले देखाएको हो ।

आत्महत्या गर्ने वा आत्महत्याको प्रयास गर्ने मध्ये ८० प्रतिशतमा उदासिनता, १० प्रतिशतमा साइकोसिस (कडा मानसिक समस्या), ५ प्रतिशतमा डिम्नेसिया र अन्य लागु पदार्थ सम्बन्धी समस्या रहेका छन् । मानिसमा आउने यी र यस्ता मानसिक समस्याले नै उनिहरुले देहत्याग गर्ने गरेको तथ्यले देखाएको हो ।

शुक्रबार तौलिहवामा भएको मानसिक स्वास्थ्य समाचार प्रकाशनमा संबेदनशिलताको बारेमा संचारकर्मीसंग भएको अन्तरकृयामा बोल्दै वरिष्ठ मनोविद विनोद पौडेलले अब सन् २०३० सम्ममा डिप्रेसन प्रमुख समस्या हुने बताए । समाजमा मानसिक समस्या भएका ब्यक्तीलाई हेर्ने नजर र गरिने ब्यवहार तथा दिइने विभिन्न नामले उनिहरुलाई थप मानसिक समस्या हुने गरेको बताए । मानसिक स्वास्थ्य समस्यालाई गम्भीर रुपमा नलिएमा यस्ले भयाबह अवस्था ल्याउने उनले बताए । आफुलाई नकरात्मक सोच आएमा ११६६ मा कल गर्न आग्रह गर्दै यहाबाट विभिन्न परामर्श पाइने बताए ।

अहिले नेपालमा कुल नसर्ने रोगहरुको संख्या मध्ये १८ प्रतिशत मानसिक रोग रहेको छ भने अपांगता गराउने प्रमुख दश कारण मध्ये चार वटा मानसिक समस्या रहेका छन् ।

सन् २००८ को तथ्यांक अनुसार १५ देखि ४५ वर्षका प्रजनन क्षमता भएका महिलालाहरुको मृत्युको कारण आत्महत्या रहेको छ । उनिहरु कुनै न कुनै रुपमा मानसिक समस्या बाट गुज्रिने गरेको देखिएको हो ।

यसरी दिनप्रतिदिन विकराल बन्दै गैरहेको मानसिक स्वास्थ्यको विषयलाई राज्यले पनि गम्भिरता पूर्वक लिएर कदम चाल्नुपर्ने वरिष्ठ मनोविद पौडेलले बताए । ब्यक्तीले आफुलाई समस्या परेको भनेर जानकारी गराउदा पनि त्यसको वेवास्था गर्दा यस्तो समस्या निम्तिएको पौडेलले बताए । यस्का साथै अहिलेको प्रविधी र पारिवारिक कारणले पनि समस्या निम्त्याएको पौडेलको भनाई छ ।

अन्तरकृयामा मनोविद सफल सापकोटाले मानसिक स्वास्थ्य समस्या राष्ट्रिय समस्या बन्दै गएको भन्दै यसको समाधानका लागि राज्यको चौथो अंग संचार क्षेत्रको पनि विशेष भुमिका रहने बताए ।

मानसिक स्वास्थ्य समस्या भएका ब्यक्तीलाई बोलिने शब्दले पनि उनिहरुप्रति नकरात्मक असर पर्ने भन्दै यस्ता विषयमा समाचार प्रकासन तथा प्रशारण गर्दा विशेष ध्यान दिन सुझाव दिए । त्यस्ता ब्यक्तीहरुलाई सम्मानजनक शब्द प्रयोग गर्दै मानसिक स्वास्थ्यको विषयलाई प्राथामिताका साथ उठाउनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले यस्ता कार्यक्रम आवश्यक रहेको भन्य अन्य पालिकामा पनि गर्नु पर्ने बताए । स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पती रहेको भन्दै मानसिक स्वास्थ्य स्वस्थ रहनुपर्ने बताए । कार्यक्रममा युएमएनका टिम लिडर रुपकुमार विकले यस्ता कार्यक्रमले मानसिक रोग तथा समस्यालाई समाधान गर्न तर्फ सजग गराउने बताए ।

यस्तै दलित सामाजिक बिकास केन्द्र कपिलवस्तुका निर्देशक रामशरण रैदासले मानसिक समस्यालाई गम्भीर रुपमा लिनुपर्ने बताए । कार्यक्रम युनाइटेड मिसन टु नेपालको आर्थिक सहयोग तथा दलित सामाजिक विकास केन्द्रको आयोजनामा भएको थियो । कार्यक्रममा जिल्लाका पत्रकारको सहभागिता थियो । कार्यक्रमको सहजीकरण मानसिक स्वास्थ्य परियोजना संयोजक निर्मला सिंहले गरेकी थिइन् ।

प्रकाशित मिति : ७ चैत्र २०८१ शुक्रबार ००:००  ८ : २१ बजे