२७ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025

मनकामना सामुदायिक बनद्धारा १ सय ५० जनाको निशुल्क विमा



वाणगंगा ।

कपिलवस्तुको मनकामना सामुदायिक बन उपभोक्ता समूह वाणगंगाले आफना उपभोक्ताको स्वास्थ्य विमा निशुल्क गरिदिएको छ । सामुदायिक बनको कार्यक्षेत्र भित्र रहेका १ सय ५० विपन्न घरपरिवारलाई निशुल्क रुपमा विमा गरिदिएको हो । बाणगंगा नगरपालिका वडा नम्बर १ र २ का गरिब, विपन्न अपांगता भएका उपभोक्तालाई ३ हजार ५ सय बराबरको विमा शुल्क सामुदायिक बनले उपलब्ध गराएको छ । सामुदायिक बनका अध्यक्ष मुक्त बहादुर कार्कीले बार्षिक कार्यक्रम अनुसार उपभोक्ताको स्वास्थ्य उपचारको लागि विमा मार्फत सहयोग पुरयाएको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी बाणगंगा नगरपालिकाका प्रवक्ता विष्णु प्रसाद पौडेलले मनकामना सामुदायिक वन उपभोक्ता समूहले विपन्न अपाङ्ग र एकल उपभोक्ताहरुलाई स्वास्थ्य बीमा गर्ने जनमुखी काम गरेकोमा प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा सामुदायिक बन उपभोक्ता समूहकी सचिव गंगा भट्टराईले उपभोक्ताको स्वास्थ्य स्थितीप्रति संवेदनशील भई आर्थिक अभाव भएका उपभोक्तालाई विमामा समेटिएको जानकारी दिनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथी वाणगंगा नगरपालिका वडा न. १ का वडा अध्यक्ष सञ्जु कुमार सारु, पिपरा अस्पतालका प्रशासन प्रमुख नरेन्द्र पोख्रेल, वडा सदस्य झिमलाल सापकोटा, उपाध्यक्ष पुष्कर घिमिरे, बनका पदाधिकारी, उपभोक्ता लगाएतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०८१ शुक्रबार ००:००  ७ : १० बजे