२७ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025

लागु औषध नियन्त्रणमा कपिलवस्तु प्रहरीः ८ महिनामा ७९ कारोबारी पक्राउ



दीपा महत, तौलिहवा ।

गत फागुन १० गते कृष्णनगरको यात्रु गेटबाट १४ केजी चरेससहित ३ जना पक्राउ परे । लागु औषध चरेस बोकेर नेपालबाट भारत जान लागेका शिवराज नगरपालिकाका शुकलाल घर्ती, रोल्पाकी प्रेमसरी रोका र रुकुम पूर्वकी सरिता पुनलाई प्रहरीले चरेससहित रंगेहात समातेको थियो ।

पक्राउ परेका उनीहरूलाई प्रहरीले लागु औषध नियन्त्रण ऐन बमोजिम मुद्दा दर्ता गरेर अनुसन्धान थालेको छ । उनिहरु जस्तै लागु औषध ओसारपसारकै क्रममा गत माघ २९ गते ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ परे ।

कृष्णनगर २ लिंगेटमा खटिएको प्रहरीले भारतको उत्तर प्रदेश जिल्ला सिद्धार्थनगर पोष्ट दुधवानिया बस्ने ३६ वर्षिय इक्रामुद्धिम र सोही ठाँउका नसिम खानको साथबाट २ सय ६० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो ।

कपिलवस्तुमा यसरी लागु औषधसहित पक्राउ परेकाहरूको सूची निकै लामो बनिसकेको छ ।’जिल्लामा चालु आर्थिक वर्षको साउन यता मात्रै ७९ जना कारोबारी पक्राउ परेको प्रहरी नायब उपरीक्षक मोहन मणि अधिकारीले जानकारी दिए ।

सबैभन्दा धेरै ब्राउन सुगरसहित ५१ जना पक्राउ परेका छन भने उनिहरुको साथबाट २२१.८८२ ग्राम ब्राउनसुगर बरामद गरिएको अधिकारेले जानकारी दिए । यस्तै नाइट्रोभेट १ सय ६८ ट्याबलेट सहित ९ जना पक्राउ परेका छन् भने १७ किलो दुई सय ५४ ग्राम चरेससहित ६ जना पक्राउ परेका छन् ।

गाँजा ४४ किलो ७१ ग्रामसहित ५जना, स्पास्मो ६६ क्यापसुलसहित ३ जना, ट्रमाडोल (१३६४३ क्या ) सहित २ जना, फेनरामाइन इन्जेक्सान (३ एम्पुल ) सहित २ जना र एम्पुलेक्स (२७ ट्या) सहित १ जना पक्राउ परेका हुन् ।

फागुमा मात्रै ९ जना लागु औषधसहित पक्राउ परेका छन् । प्रहरीले सञ्चालन गरेको लागु औषध नियन्त्रण अभियानका क्रममा गाँजा, चरेस, अफिम, खैरो हेरोइन, नियन्त्रित पदार्थ समेतको अवैध कारोबारमा संलग्न अभियुक्त पक्राउ परिसकेका छन ।

प्रहरीले नागरिकसँगको सहकार्यमा अभियानमार्फत लागु औषध कारोबारीलाई नियन्त्रणमा लिएको प्रनाउ अधिकारीले बताए ।
प्रहरीका अनुसार विश्वव्यापी समस्याको रूपमा रहेको लागू औषध प्रयोग र कारोबार नेपालमा पनि जटिल बन्दै गएको छ । यसको प्रयोग बढेपछि सामाजिक, सांस्कृतिक, आर्थिक लगायत शान्ति सुरक्षामा समेत नकारात्मक प्रभाव परेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८१ बिहिबार ००:००  १ : ०४ बजे