४ चैत्र २०८१, मंगलबार | Tue Mar 18 2025

५२ जना मोतियाविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया



दीपा महत, राजपुर ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर ५ चौरीमा संचालित निःशुल्क आँखा शिविरबाट ५२ जना मोतियाविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिने भएको छ। सोमबार वडा नम्बर ५ को आयोजना तथा नेपाल नेत्र ज्योती संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगंजको प्राविधिक सहयोगमा भएको निःशुल्क आँखा शिविरबाट ३ सय ८७ जनाले सेवा लिएका थिए ।

जसमा १ सय २२ जनालाई चस्मा प्रदान गरिएको थियो भने अन्यलाई औषधी वितरण गरिएको थियो । शिविरमा आएका मध्ये ५२ जना मोतियाबिन्दु भएकाको निःशुल्क शल्यक्रियाको लागि आज (मंगलबार) बिहान बहादुरगंज पठाईएको वडा अध्यक्ष रोम बहादुर थापाले बताए । शिविरमा नेत्र सहायक डाक्टर मुना शर्मा सहितको टोली खटिएको थियो ।

अहिलेको प्रविधि अनुसार मेसिनबाट शल्यक्रिया गर्नेलाई ११ हजार लाग्ने भएपनि वडा कार्यालयको ५ हजार ५ सय र आफुले ५ हजार ५ सय रुपैया तिर्नुपर्ने अध्यक्ष थापाले बताए । उनले हातले शल्यक्रिया गर्नेको हकमा भने पूर्णरुपमा निःशुल्क हुने बताए ।

मेसिनबाट शल्यक्रिया गर्न जानेलाई वडाको सिफारिस सहित कार्ड लगेर जान अनुरोध गरे ।
शिविरमा भएको उद्घाटन कार्यक्रममा बोल्दै मेयर केशब कुमार श्रेष्ठले यस्ता शिविरले आर्थिक रुपमा विपन्न परिवार लाभान्बित हुने बताए । वडा नम्बर ५ संगै सिंगो नगरपालिकानै जनताको सेवामा समर्पित भएको उनको भनाई छ ।


कार्यक्रममा बोल्दै वडा अध्यक्ष रोम बहादुर थापाले यस क्षेत्रको अवस्थालाई हेरेरआफुले शिक्षा तथा स्वास्थ्यलाई विशेष प्राथामिकता दिएको बताए । स्वास्थ्यमा पछाडी परेको वडा भएकाले पनि यस्ता शिविरले जनताले लाभ लिने बताए । वडाले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने प्रतिबद्धता जनाए । कार्यक्रमको संचालन वडा सचिव निरज बिक्रम थापाले गरेका थिए ।
यसअघि पनि वडा गरेको निःशुल्क स्वस्थ्य शिविरबाट करिव ५ सय जनाले सेवा लिएका थिए ।

प्रकाशित मिति : ४ चैत्र २०८१ मंगलबार ००:००  ८ : ०९ बजे