२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

गुणस्तरीय शिक्षामा जोड दिऔँः सांसद पन्थी



कपिलवस्तु ।

लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले विद्यालय भन्दा पनि विधार्थीहरुको संख्या वृद्धि गर्न आवश्यक रहेको बताएका छन् । वास्तविक मूल्याङ्कन गरि आवश्यकता अनुरुप विधार्थी संख्या कम भएका विद्यालयहरुलाई मर्ज गरेर अघि बढ्नु अहिलेको आवश्यकता भएको उनको भनाई छ । गुणात्मक शिक्षामा जोड दिनुपर्ने उनको भनाई थियो ।

शनिबार सिद्धार्थ क्याम्पसको सभाहलमा भएको बाणगंगा नगरपालिकाको शैक्षिक अवस्था, भावि कार्ययोजना तथा सुझाव संकलन सम्बन्धि बृहत शैक्षिक बहस कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद पन्थीले यस्तो बताएका हुन् ।

उक्त कार्यक्रम नेपाल शिक्षक महासंघ बाणगंगा नगर समितिको आयोजना र बाणगंगा नगरपालिकाको सहयोगमा भएको हो ।

उनले बाणगंगासहित कपिलवस्तुबाट अध्ययनका लागि बुटवल जानुपर्ने अवस्थाको अन्त्य गर्न आवश्यक रहेको बताए । यसप्रकारको शैक्षिक बहसले विद्यालय, अभिभावक, विधार्थीसंग समाजमा नै सकारात्मक सन्देश प्रवाह हुने बताए । ‘मलाई बुटवलका विद्यालयहरुमा भर्ना गरिदिन सहयोग गर्नुपर्यो भनेर सयौंको संख्यामा जिल्लाका विभिन्न पालिकाबाट फोन आउने गरेको छ । मैले जिल्लामै उत्कृष्ट विद्यालयहरु छन् भनेर सम्झाउने गरेको छु,’ उनले भने ।

उनले लुम्बिनीका १०९ स्थानीय तहहरुमध्ये बाणगंगा तीब्र गतिमा सहरीकरण हुने पालिकाको रुपमा रहेको बताउँदै उनले त्यसलाई ध्यानमा राखेर शैक्षिक निति अवलम्बन गर्न आवश्यक रहेको बताए ।

बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले नगरले शिक्षा क्षेत्रमा प्राथमिकताका साथ काम गरेको बताए । उनले बाणगंगाका शैक्षिक संस्था बुटवलका भन्दा अब्बल रहेको जिकिर गरे । उनले अभिभावकलाई सचेत बनाउन सके दैनिक रुपमा बुटवल जाने विधार्थीहरुलाई रोक्न सकिने बताए । बाणगंगालाई लुम्बिनी प्रदेशकै शैक्षिक हबका रुपमा विकास गर्न नगर योजनाबद्ध रुपमा लागेको उनले बताए ।

उपप्रमुख रिता कुमारी चौधरीले सडक पूर्वाधार निर्माणको क्षेत्रमा बाणगंगाले विगतभन्दा फड्को मारिसकेको बताउँदै अब नगर शिक्षा केन्द्रित हुने बताईन् । हरेक विद्यालयमा विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षाको प्रत्याभूति दिलाउन नगरले हरेक तवरले सहयोग गर्ने उनले जिकिर गरिन् ।

उक्तः कार्यक्रममा शैक्षिक व्यक्तित्वहरु बाबुराम भट्टराई, रमेश पन्थी र सम्भु अधिकारीले क्रमश ५ बर्षे नगर शिक्षा योजना, गुणस्तरिय शिक्षाको सुनिश्चितताः नगरपालिकाको पहल र भविष्य तथा राष्ट्रिय शिक्षा निति २०७६ र भावि कार्यदिशा सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रम नेपाल शिक्षक महासंघ बाणगंगा नगर समितिका अध्यक्ष धन बहादुर गाहाको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रकाशित मिति : १ चैत्र २०८१ शनिबार ००:००  ८ : ५० बजे