काठमाडौँ ।
सर्वोच्च अदालतले सबैभन्दा धेरै मुद्दा सम्बन्धविच्छेद रहेको प्रतिवेदन सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै देशभरबाट ४० हजार २ सय ३० मुद्दा दर्ता भएको जनाएको छ।
जसमा ३१ हजारभन्दा धेरै मुद्दा फर्स्योट भए। ८ हजार अझै फर्स्योट गर्ने क्रममा रहेको उल्लेख छ।
कुन अदालतमा कति ?
वैदेशिक रोजगार, पारिवारिक किचलो, बानी व्यवहार जस्ता असमझदारीले सम्बन्धविच्छेद हुने गरेको छ। सम्बन्धविच्छेदका सबैभन्दा धेरै मुद्दा जिल्ला अदालतमा परेका छन्।
जिल्लामा ३९ हजार ५४ मुद्दा दर्ता भएका छन् भने ३० हजार ९ सय ४ वटा मुद्दा फर्स्योट भएका छन्। त्यस्तै उच्चमा १ हजार २ सय ६ मुद्दा दर्ता हुँदा ८ सय ४० मुद्दा फर्स्योट भएका छन्। त्यसैगरी सर्वोच्चमा ६० मुद्दा दर्ता हुँदा ८ मुद्दा फर्स्योट भएका छन्।
हरेक वर्ष बढ्दै छ सम्बन्धविच्छेद
सर्वोच्चको तथ्यांक अनुसार, पछिल्ला छ वर्ष (२०७५/०७६/२०८०-०८१) मा देशभरका अदालतहरूमा एक लाख ९४ हजार ६५ सम्बन्धविच्छेदका मुद्दा दर्ता भए।
जसमध्ये २०७५-७६ मा कुल २३ हजार ३११ मुद्दा सम्बन्धविच्छेदका थिए भने वर्ष २०७९-०८० मा ४० हजार १८३ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भए।
२०७६-७७ मा देशभरका अदालतमा २५ हजार ४३२, २०७७-०७८ मा २७ हजार ४२५, वर्ष २०७८-०७९ मा ३७ हजार ४ सय ३४ र २०८०-८१ मा ४० हजार ३ सय २० सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन्।
सहज जीवन बाँच्न नसके छुट्टिनु राम्रो
सम्बन्ध विच्छेद कति सही हो या कति गलत भन्ने कुरा आफैँ असहजपूर्ण विषय हो तर पारिवारिक मिलन आफैँमा एक सुन्दर पक्ष भने पक्कै हो। कतिपय सम्बन्धविच्छेद हुनुमा चेतनावृद्धि, वैदेशिक रोजगार, आत्मनिर्भरता, कानुनको स्पष्ट व्याख्या रहेको बताउँछन्।
समाजशास्त्री डा। दिनेश प्रसाईंले सम्बन्धमा दरार आए पनि सामाजिक इज्जतका लागि सँगै बसिरहनुपर्छ भन्ने मानसिकता हट्दै गएको बताउँछन्। कुनै पनि डिभोर्सी महिला वा पुरूष भन्ने बितिक्कै समाजमा हेरिने दृष्टिकोण राम्रो थिएन्। अब त समाजले पनि सम्बन्धमा समस्या भए अलग बस्दा हेयको दृष्टिले हेर्न छाडेको उनले बताए।
‘महिला वा पुरूषलाई डिभोर्स भएपछि इज्जत जान्छ भन्ने थियो। अब जिन्दगीलाई सहज तरिकाले अगाडि बढाउनुपर्छ भन्ने मानसिकता समाजमा विकास भइसकेको छ’, उनले भने, ‘महिलाहरूले पहिले चरम विभेद पनि सहेर बस्थे तर अहिले शिक्षा र चेतनाका कारण महिलाले आफूमाथि भएको हिंसा सहेर बस्ने अवस्था छैन्।
सम्बन्धविच्छेदको मूख्य कारण भनेको आत्मस्वाभिमानको रक्षा पनि एक रहेको उनले बताए।
‘सम्बन्धमा एउटा हिंसा गरिरहने अर्कोले सहिरहनुपर्छ भन्ने छैन। अर्को कुरा अहिले महिला र पुरुष दुवै आत्मनिर्भर भएका छन्। उनीहरूसँग चेतना छ। शिक्षा छ। आफूलाई असहज भए छुट्टिन उनीहरू स्वतन्त्र छन्’, उनले भने, ‘आत्मसम्मान बिना कोही किन कसैसँग बस्छरु’
सबै सम्बन्धविच्छेद पैसाका लागि मात्र हुँदैन
सम्बन्ध जोगाउन अब महिला र पुरुषको बराबर दायित्व रहेको महिला आयोगकी प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडाुले बताइन्। उसो त कुनै सम्बन्धविच्छेदका कारण महिला र पूरूष दुवै रहेको उनी जिकिर गर्छिन्।
‘कतिपय कुरामा कतै पुरूषमा समस्या होला। कतै महिलाका पनि समस्या होलान्। उनीहरूले सहज तरिकाले जीवन चलाउन नसके सम्बन्ध विच्छेद गर्छन्’, उनले भनिन्, ‘एकअर्काप्रति तुष पालेर सहज जीवन बाँच्न सकिँदैन भन्ने आधार भए उनीहरू छुट्टिन स्वतन्त्र छन्।
अझै पनि समाजमा महिलाहरूले पारिवारिक, सामाजिक जिम्मेवारी सम्हालिरहेको र सम्बन्धविच्छेदको कारण धेरै कुराले पुरुष नै कारक रहेको उनले बताइन्।सम्बन्ध विच्छेद गर्दा महिलाले श्रीमानको सम्पत्तिबाट आधा अंश पाउने कानूनी व्यवस्था छ। कतिपयले भने महिलाले सम्पत्तिका लागि पनि सम्बन्ध विच्छेद गर्ने गरेको टिप्पणी पनि गर्छन्।
यसमा भने पौडेले विमति राख्छिन्। महिलाले अंश पाउने व्यवस्था कानुनले गरेको भए पनि सबै महिलाले श्रीमानबाट अंश लिने नगरेको उदाहरण प्रशस्त रहेको उनले बताइन्।
प्रतिक्रिया