काठमाण्डाै ।
प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएका खेलमा लुम्बिनी प्रदेश, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब विजयी भएका छन् ।
रुपन्देहीको सिद्धार्थनगर रङ्गशालामा भएको खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो । लुम्बिनीले दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको गण्डकीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रनमात्रै बनाउन सक्यो । गण्डकीका अर्जुन कुमालले सबैभन्दा धेरै ६२ रन बनाए । लुम्बिनीका निर्मल गुरुङले ३ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी ४९ ओभर ५ बलमा २ सय १७ रन बनाउँदा अलआउट भयो । लुम्बिनीका प्रज्ज्वल थापाले ७२ रन बनाए । गण्डकीका अमृत गुरुङले ३ विकेट लिए । प्रतियोगितामा लुम्बिनीको यो तीन खेलमा दोस्रो जीत हो भने गण्डकीको तीन खेलमा दोस्रो हार हो ।
रुपन्देहीकै एक्स्ट्राटेक ओभल मैदानमा भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई १ सय २७ रनले हरायो । आर्मीले दिएको २ सय ६३ रनको लक्ष्य पछ्याएको कर्णाली ३७ ओभर १ बलमा १ सय ३५ रनमा अलआउट भयो । कर्णालीका प्रकाश जैशीले सबैभन्दा धेरै नटआउट ५० रन बनाए । आर्मीका शाहब आलमले ३ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६२ रन बनायो । आर्मीका तृतराज दासले ६९ रन बनाए । कर्णालीका प्रकाश जैशीले ४ विकेट लिए । प्रतियोगितामा आर्मीको यो लगातार तेस्रो जीत हो भने कर्णालीको तीन खेलमा दोस्रो हार हो ।
दाङको देउखुरी रङ्गशालामा भएको खेलमा एपीएफले मधेश प्रदेशलाई २ विकेटले हरायो । मधेशले दिएको १ सय ६९ रनको लक्ष्य एपीएफले ७९ बलअघि ८ विकेट गुमाएर भेटायो । एपीएफका सुमित महर्जनले ३५ रन बनाए । मधेशका कमल गुप्ताले ४ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको मधेश ४० ओभर ४ बलमा १ सय ६८ रन बनाउँदा अलआउट भयो । मधेशका पवन सर्राफले सबैभन्दा धेरै ७७ रन बनाए । एपीएफका कमल ऐरीले ४ विकेट लिए । प्रतियोगितामा एपीएफको यो लगातार दोस्रो जीत हो भने मधेशको दुई खेलमा पहिलो हार हो ।
प्रतिक्रिया