काठमाण्डौ ।
नेपालमा चरा प्रजातिको सङ्ख्या ८ सय ९८ पुगेको छ । पछिल्लो पटक बैजनी–बुङ्गेचरा थप भएको हो । यो चरा बङ्गलादेश, भारत, म्यानमार र श्रीलङ्कामा पाइने गरेकोमा नेपालमा पनि भेटिएको हो ।
झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टामा समुद्र सतहदेखि १ सय ३३ मिटर उचाइमा नयाँ प्रजातिको चरा पर्पल–रुम्पेड सनवर्डु अर्थात् बैजनी–बुङ्गेचरा भेटिएको र अभिलेख भएको नेपाल बर्ड रेकर्ड कमिटीले जनाएको छ ।
चराविद् देवेन्द्रकुमार खरेलले चरा अवलोकनका क्रममा फागुन ७ गते मेचीनगर क्षेत्रको आवासीय भवन परिसरमा रहेको एभोकाडो तथा सितलचिनीको रुखमा यो चराको भालेपोथी देख्नुभएको थियो । खरेलपछि चराविद्हरू अनिश तिमसिना, चक्र तिमसिना र शङ्कर लुइँटेलले पनि अवलोकन गर्नुभएको थियो । चराको तस्वीर पाएपछि त्यसको पुष्टि बर्ड रेकर्ड कमिटीले गरेको अध्यक्ष डा. तुल्सी सुवेदीले जानकारी दिनुभयो ।
यसैबीच नेपालबाट लोप भएको ठानिएको खैरो झाडी फिस्टो चरा चितवनमा देखिएको छ । चराविद् प्रताप गुरुङले गएको मङ्सिर २३ गते भरतपुर महानगरपालिका–२६ दिव्यनगरको खेतमा खैरो झाडी फिस्टो चरा देख्नुभएको थियो । गुरुङले खिचेको यो चराको तस्वीर पुस ८ गते नेपाल बर्ड रेकर्ड कमिटीमा पठाउनुभएको थियो । चराको तस्वीर र अन्य विवरणका आधारमा चरा खैरो झाडी फिस्टो भएको कमिटीले पुष्टि गरेको नेपाल बर्ड रेकर्ड कमिटीका डा. तुल्सी सुवेदीले जानकारी दिनुभयो ।
नेपालमा १९औं शताब्दीयता यो चराको कुनै अभिलेख नभएको हुँदा लोप भएको ठानिएको डा. सुवेदीले बताउनुभयो । अङ्ग्रेजी नाम ब्राउन बुस वार्ब्लरु रहेको यो चरा भुटान, भारत, चीन, म्यानमार र थाइल्यान्डमा पाइने नेपाल पक्षीविद् सङ्घले जनाएको छ । यो अब नेपालमा पनि पाइने सूचीमा समावेश भएको छ ।
प्रतिक्रिया