२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

प्रेस चौतारी लुम्बिनीको १२ बुँदे देउखुरी घोषणा पत्र सार्वजनिक



कपिलवस्तु ।
प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनले १२ बुँदे देउखुरी घोषणा पत्र सार्वजनिक गरेको छ । दोश्रो अधिवेशनले श्रमजीवि पत्रकारको हकहित, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी, संचार समन्वय परिषद्को कार्यान्वयन, सामाजिक संजालको सही सदुपयोग लगाएतका विषयमा घोषणा पत्र सार्वजनिक गरेको छ ।

शनिबार दाङको राप्ती गाउँपालिकाको सभाहलमा सम्पन्न अधिवेशनकाे प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेतले उद्घाटन गर्नुभएको थियाे । अधिवेशनले सार्वजनिक गरेको घोषणा पत्र कार्यान्वयनमा जोड दिन सम्वन्धित पक्षको ध्यानाकर्षण गराइएको नवनिर्वाचित अध्यक्ष शोभाखर पन्थीले जानकारी दिनुभयो । दोश्रो अधिवेशनले पुनः शोभाखर पन्थीको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । घोषणा पत्र लेखन समितिको संयोजकमा टीकाबहादुर बस्नेत, सदस्यहरुमा अमृत गिरी, भेषराज बस्नेत, पाण्डव शर्मा, सुधासुमन ढकाल रहेको नवनिर्वाचित महासचिव हरि अधिकारीले जानकारी दिनभुयो ।
घोषणा पत्रको पूर्ण पाठ ः
१. श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, न्यूनतम पारिश्रमिकको ग्यारेन्टी तथा पेशागत सुरक्षाको प्रत्याभूति गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायहरुसमक्ष अधिवेशन माग गर्दछ ।
२. प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि सरकार, राजनीतिक दललगायत सबै सरोकारवाला निकाय समक्ष यो अधिवेशन जोडदार माग गर्दछ ।
३. लुम्बिनी प्रदेश सरकार मातहतमा रहेको “सञ्चार समन्वय परिषद्” लामो समयसम्म भूमिकाबिहीन अवस्थामा रहेकाले परिषद्लाई यथाशीघ्र क्रियाशील बनाउन ऐन, नियमावली तथा आवश्यक कानुन निर्माण तथा संशोधन प्रक्रिया अगाडि बढाउन यो अधिवेशन माग गर्दछ ।
४. सञ्चारमाध्यमहरूको आर्थिक अवस्था सुधार गर्न तथा विज्ञापन वितरण प्रणालीलाई पारदर्शी बनाउन आवश्यक नीति निर्माणका लागि तीनै तहका सरकारसँग यो अधिवेशन माग गर्दछ ।
५. पत्रकारहरूलाई डिजिटल सिपमूलक तालिम तथा प्रविधि सम्बन्धी ज्ञान प्रदान गर्न संघ, प्रदेश र स्थानीय तहसँग विशेष सहकार्यका लागि अधिवेशन माग गर्दछ ।
६. पत्रकारहरूलाई डिजिटल मिडियामा अवसर दिलाउने, पत्रकारिताका नयाँ शैली सिकाउने तथा उनीहरूको हकहित सुरक्षित गर्ने नीति अवलम्बन गर्न यो अधिवेशन माग गर्दछ ।
७. महिला पत्रकार, दलित, जनजाति, अपाङ्गता भएका पत्रकारलगायत सबैको समान अवसर तथा हक संरक्षणका लागि विशेष नीति निर्माण गर्न राज्यसँग अधिवेशन माग गर्दछ ।
८. साना लगानीका मिडियाको प्रवद्र्धन गर्न विशेष कार्यक्रम बनाउन तीनै तहका सरकारसँग यो अधिवेशन माग गर्दछ ।
९. लोककल्याणकारी विज्ञापनको रकम बृद्धि गर्दै अनलाइन सञ्चारमाध्यमलाई समेत समेट्न अधिवेशन माग गर्दछ ।
१०. सञ्चारकर्मीको श्रम अधिकार, पारिश्रमिक, दुर्घटना बीमा तथा पेशागत सुरक्षालाई कानूनी तथा संस्थागत रूपमा सुनिश्चित गर्न अधिवेशन माग गर्दछ ।
११.सामाजिक सञ्जालको गलत प्रयोग रोक्न नियमन आवश्यक रहेकाले सरकारले ल्याएको “सामाजिक सञ्जाल सञ्चालन प्रयोग तथा नियमनसम्बन्धी विधेयक” को स्वागत गर्दै यसलाई पारित गर्न अधिवेशन माग गर्दछ ।
१२. प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन सम्पन्न गर्न प्रत्यक्ष, अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्ण संघ संस्थाहरुप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्ने यो अधिवेशन माग गर्दछ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१ आइतबार ००:००  ७ : २८ बजे