मायादेवी अनलाइन, जितपुर ।
ऐतिहासिक कपिलवस्तुलाई खेल पर्यटनको माध्यमबाट प्रवर्द्धन गर्ने लक्ष्यसहित सुरु हुन लागेको दोस्रो तिलौराकोट गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ।
बाणगंगा नगरपालिकाको बुद्ध रंगशालामा बुधबारदेखि सुरु हुने प्रतियोगिता फागुन १४ देखि २१ गतेसम्म सञ्चालन हुनेछ।
जितपुरमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला फुटबल संघका अध्यक्ष तिलक थापाले प्रतियोगिताको तयारी पूरा भएको जानकारी गराउँदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार दिउँसो ३ बजे उद्घाटन गर्ने बताए। उद्घाटन खेल कपिलवस्तु ११ र संकटा एफसीबीच हुनेछ।
थापाका अनुसार प्याराफिट, बाउण्ड्री निर्माण लगायतका भौतिक संरचनाको काम सम्पन्न भइसकेको छ।
उनले प्रतियोगितामार्फत कपिलवस्तुको पर्यटन क्षेत्रलाई खेल पर्यटनसँग जोड्ने उद्देश्य राखिएको बताए। खेल अवधिभर खेलाडीहरुलाई जिल्लाका विभिन्न पर्यटकीय स्थलहरुको भ्रमण गराइने योजना रहेको समेत उनले जानकारी दिए।
प्रतियोगिता भव्य र व्यवस्थित बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष थापाले खेलप्रेमीलाई अवलोकनका लागि आग्रह गरे।
जिल्ला फुटबल संघका कोषाध्यक्ष गणेश बहादुर सिंह ठकुरी ९शुसिल० का अनुसार गोल्डकप विजेता टोलीले नगद ११ लाख ११ हजार १११ तथा उपविजेता टोलीले ५ लाख ५५ हजार ५५५ पुरस्कार प्राप्त गर्नेछ।
हरेक खेलको ‘म्यान अफ द म्याच’ खेलाडीलाई १० हजार, विभिन्न विधागत उत्कृष्ट खेलाडीलाई ३०(३० हजार तथा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार प्रदान गरिनेछ।
गोल्डकपमा कुल आठ टोली सहभागी हुनेछन्, जसमा कपिलवस्तु ११, संकटा एफसी, मछिन्द्र क्लब (काठमाडौं), हिमालयन शेर्पा, नेपाल पुलिस, थ्री स्टार क्लब, बिएफसी चितवन र जोन्जी एफसी (सिक्किम) रहेका छन्।
प्रतियोगिता हेर्न टिकट तथा पासको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
प्रतिक्रिया